काठमाडौँ, वैशाख ४ गते । निर्वाचन आयोगले जियुक्ति दिएपछि मुख्य निर्वाचन अधिकृतहरु आफ्नो निर्वाचन क्षेत्रहरु लागेका छन् । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।
स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेपछि उनीहरु शनिबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा लागेको आयोगले जनाएको छ ।
बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्छ । जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा उनीहरुले स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्नेछन् ।
निर्वाचन आयोगका प्रतिनिधिका रुपमा रहने उनीहरुले निर्वाचनको तयारीदेखि मतदान र मतगणना गरी निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नेछन् । निर्वाचन आयोगले तयार पारेको स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकार तोकिएको छ ।
निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । सम्बन्धित जिल्लाका एक नम्बर (बरियतक्रममा सबैभन्दा माथि रहेका) न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने न्याय सेवा र प्रशासन सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर कार्यक्षेत्रमा पठाइएको छ।