जिम्मेवारी र मर्यादालाई कायम राखी काम गर्न निर्वाचनमा खटिने कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन

काठमाडौं, मंसिर ३ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।

उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुन् ।

उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने सङ्कल्प गर्न, संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिएका हुन् । व्यक्तिगत, संस्थागत एवं पदीय रूपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी कार्य सम्पादन गर्न उनको निर्देशन छ ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की आउन भएकाले सचेत रहन समेत निर्देशन दिए । निर्वाचन सामग्रीको दुरूपयोग हुन नदिन, कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानूनबमोजिम प्रतिकार गरी कदापि यस्ता कार्यको मतियार नबन्न समेत निर्देशन दिनुभएको हो ।

मतदान तथा मतगणनासम्बन्धी विवाद निरूपण गर्दा पक्षहरुबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रही समाधान गर्न आग्रह गर्दै उनले राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा नपर्न समेत सचेत गराए । मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदातालगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि उनले आग्रह गरे ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →