पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’

सुर्खेत, पुस १० गते ।नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो ।

साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ ।

संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिएको हो ।

आमपत्रकारलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्नुका साथै सो माध्यममार्फत् प्रेस स्वतन्त्रता हननका घटनामाथि कानुनी कारबाहीका लागि समेत जोडदार गरिएको छ । संविधानअनुसारका सञ्चार कानुन तत्काल निर्माण गर्न र पुराना कानुनमा सुधार ल्याउन सम्बद्ध पक्षसँग माग गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाको पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्बद्ध पक्षसँग माग गर्दै महासङ्घलाई ट्रेड युनियन संस्थाका रूपमा सामूहिक सौदाबाजीमार्फत श्रम अधिकार स्थापित गर्न निर्देश गरिएको छ ।

साधारणसभाको घोषणामार्फत् नै साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यम दिगो र भरपर्दो ढङ्गले सञ्चालनका लागि सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बढाउन र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरिएको छ । साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गरिएको छ ।

श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बीमाका सम्बन्धमा विगतमा सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →