कांग्रेस आन्तरिक छलफलमा, प्रधानमन्त्री पद नछाड्ने

काठमाडौँ, पुस १० गते । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाबी नछाडेपछि नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ।

बालुवाटारमा आइतबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु रामशरण महत, बालकृष्ण खाण, बिमलेन्द्र निधिलगायतका नेताहरु छलफलमा जुटेका हुन् ।

नेताहरुले पहिलो चरणमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा जनताले कांग्रेसको नेतृत्वमा सरकार बनाउन म्यान्डेट दिएको भन्दै नेताहरुले ३२ सिटको माओवादी केन्द्रलाई नेतृत्व छाड्न नमिल्ने बताएका छन्। नेताहरु गठबन्धनको बैठक अगाडि थप रणनीति बनाउन छलफलमा जुटेका हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। तर गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले सहमति हुन सकेको छैन।

आइतबार बिहान कांग्रेस नेता विमलेन्द्र निधि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन खुमलटार पुगेका थिए। सभापति शेरबहादुर देउवाको सन्देश लिएर निधि खुमलटार पुगेका हुन्। निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन्। उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन दबाब दिएका छन्। स्रोतले भन्यो, प्रचण्डले प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली कांग्रेसले एमालेसँग सहकार्यका गर्ने जानकारी गराएका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →