त्रिलोचन ढकाल
१ लघुकथा: मान
लघुकथाकार: धिरज बराल, कौशलटार-भक्तपुर
कथाको सार यस्तो छ: मानबहादुरले दिनमा कार्यालयमा काम गर्छन् र उनकी पत्नीले पसल चलाउँछिन् । घर आएपछि दुवैले घरको काम गर्छन् ।
पतिले भाँडा माज्ने र खाना पकाउने काम गर्दा पत्नीले घरको सरसफाइ गर्छिन् । यो वास्तविकता हो । तर पत्नी जानुका र पति मानबहादुर दुवैले भान्छामा काम गरिरहेको कुरा अरूलाई बताउन चाहन्नन् भने पतिले पनि भान्सामा पत्नी नै भएको कुरा सुनाउन चाहन्छन् । कथा यत्ति हो ।
कथा यस अर्थमा यथार्थ छ कि घरको काम पति-पत्नीले मिलेर गर्नुपर्छ । कथाले यही सन्देश दिएको छ । तर उनीहरू दुवैले पतिले भान्साको काम गरेको कुरा लुकाउन चाहन्छन् । यसैलाई उनीहरूले एकअर्काको ‘मान’ गरेको ठान्दछन् । यहाँ पतिले घर आउँदा पनि कार्यालयकै काम गर्ने र पत्नीले भान्सा, सरसफाई, बच्चालाई स्कूल पठाउने लगायतका काम गरेर पसल जानुपर्ने विषयलाई प्रदर्शन नगर्न निकै मुस्किल परेको देखाएको छ । यो मनोवैज्ञानिक समस्या भएर प्रकट भएको छ । लोग्ने मान्छे भान्सामा काम गर्दा प्रतिष्ठा गिर्ने भन्ने पुरानो सोचाइ प्रकट भएको छ कथामा । व्यवहारमा बाध्यतावश परिवर्तन भएको तर अरूलाई देखाउन लाज मानेको पछौटे विचारले ग्रस्त देखिन्छन् पतिपत्नी ।
लेखाइ मिठो छ । संक्षिप्त छ । शीर्षक ‘मान’ छोटो र उत्कण्ठा जगाउने मात्र हैन कथा व्यापी पनि छ । प्रारम्भ आकस्मिक र उत्सुकता जगाउन सफल छ । पात्र प्रत्यक्ष तिनजना हुनु उपयुक्त छ । समापन ले कथामा मोड ल्याउन प्रयत्न गरे पनि त्यति बलियो लागेन । समग्रमा लघुकथा राम्रो छ ।
धन्यवाद धिरज बरालजी लघुकथा लेखेर प्रेषित गर्नु भएकोमा ।
२ लघुकथा: मोतिबिन्दु
लघुकथाकार सरण राई, धरान
कथाको सारसंक्षेप: उनलाई मोतिविन्दु भएको छ । डाक्टरले अपरेशन गर्न समय नभएको कुरा बताएका छन् । मोतिबिन्दुका कारणले आकृति कालो देखिने हुनाले उनले कालो चस्मा लगाउने गरेका छन् ।
यस्तैमा उनले बच्चाहरूलाई ‘बोलबम’को नारा लगाउने काम गराउँदै अभिभावकहरूले नै जुलुश लिएर हिँडेको देख्छन् । आफूलाई पनि अभिभावकले यस्तै नारा लगाउन भनेकाले आँखामा मोतिविन्दु भएको थियो भन्ने निष्कर्षमा पुग्छन् उनी । यी बच्चालाई पनि मोतिविन्दु हुने भयो भनेर सोच्दछन् । मोतिबिन्दु भएपछि सत्यतत्थ्य पत्ता लगाउन असक्षम हुने कुरा बताउँछन् उनले ।
आफ्नो मोतिबिन्दु जीवनभर सञ्च नहुने र बच्चालाई लागेको मोतिबिन्दुले पनि कहिलेै साथ छोड्ने छैन भन्ने निष्कर्ष निकाल्छन् । कथाको सार यही हो
कथा बिम्बात्मक छ । अभिभावकले जे सिकाउँछन् बच्चाहरू जीवनभर त्यही मानसिकताद्वारा ग्रस्त हुन्छन् भन्ने सन्देश छ कथामा । मोतिबिन्दु अन्धविश्वासको परिणामको सट्टामा प्रयोग भएको छ । यसले लघुकथालाई निकै रोचक र कुतूहलतापूर्ण बनाएको छ । बच्चाहरूलाई ‘बोलबम’ रूपी अन्धविश्वासमा चोबलेपछि उनीहरू जीवनभर सत्यतत्थ्य बुझ्न असक्षम हुनेछन् । यसले उनीहरूलाई वास्तविक धरातल बाट निकै टाढा पुर्याउने छ ।
मोतिबिन्दु शीर्षक नै बिम्बात्मक छ । यो छोटो छ र उत्कण्ठाले भरिपूर्ण छ । यो कथाको बाक्य वाक्यमा व्याप्त छ । लेखाइ कलात्मक र आकर्षक छ । पूरै कथानक उत्सुकता भित्र चुर्लुम्म डुबेको छ । लघुकथा संक्षिप्त छ र पूर्णाङ्ग छ । भाषा साधारण र शिष्ट छ । समापनले शीर्षक र कथानकको सबै रहस्य खोलिदिएको छ ।
कथा भूत, वर्तमान र भविष्य तिनै कालमा दौडेको हुनु ठिक भएको छैन । लघुकथा लेख्दा एउटै कालमा लेखिनु पर्छ ।
उत्कृष्ट छ लघुकथा
धन्यवाद सरणराईज्यू, लघुकथा लेखेर प्रेषित गर्नु भएकोमा ।
३ लघुकथा: संस्कार
लघुकथाकार: गणेशकुमार श्रेष्ठ,हेटौडा ४ -चिल्ड्रन पार्क
कथाको सार: चिल्ड्रेन पार्कमा मानिसहरू घुम्न आउँछन् । शनिबार जस्ता सार्वजनिक बिदाका दिनमा त अरू धेरै मानिसहरू आउनु स्वाभाविक हो । त्यहाँ प्रेमी प्रेमिकाहरू पनि आउँछन् । कसैकसैले प्रेमसम्बन्धी अश्लिल क्रियाकलापहरू पनि गर्दछन् । एक किशोर
जोडिले अश्लिल हर्कत गरिरहेको कुरा बार्दलीबाट हेरिरहेका जगतलाई असह्य लाग्दछ । उनले पार्कमा गएर त्यो जोडीलाई गाली गर्छन् ।
यस सम्बन्धमा अभिभावकलाई दोषि देख्छन् लेखकले । छोराछोरीहरू कहाँ जान्छन्, के गर्छन् भन्ने विषयमा अभिभावकले राम्रो ध्यान दिएर सुसंस्कारयुक्त बनाउनु पर्दछ भन्दछन् ।
कथा सामान्य छ । यस्ता विषयमा प्रशस्त लघुकथाहरू लेखिएका छन् । आफ्ना किशोर छोराछोरीहरू कहाँ जान्छन् र के गर्छन् भन्ने विषयमा अभिभावको ध्यान गइरहनुपर्दछ भन्ने यो कथाको सन्देश हो । किशोर उमेरमा यौनसम्बन्धमा उत्सुकता हुन्छ । त्यो अनुभव गर्न उनीहरु होटल, लज र पार्कमा जानु स्वाभाविक मानिन्छ । तर त्यसमा बढी प्रभावित भएर आफ्नो पढाइ र ब्यक्तित्व निर्माणको समय खेर फाल्न लागे भने त्यो हानिकारक हुन्छ । यस विषयमा अभिभावकले ध्यान दिनु पर्दछ ।
लेखाइ राम्रो छ र कथा संक्षिप्त छ । कथाभित्र भने प्रशस्त कमजोरीहरू देखिन्छन् । प्रारम्भ भूमिका र परिवेश निर्माणमा आएको छ । लघुकथाले यस्तो प्रारम्भलाई स्विकार गर्दैन । प्रारम्भ आकस्मिक र उत्कण्ठायुक्त हुनु पर्दछ । समापनमा कथानकमा भएको कथाले दिशा मोडेर नयाँ घटना प्रस्तुत गर्दै झट्का दिन सक्षम हुनु पर्दछ । यो लघुकथाको समापनले त्यस्तो प्रभाव दिन सकेको देखिदैन । पात्र संख्यामा पनि किशोर,किशोरी, जगतबाहेक आगन्तुकहरू असङ्ख्य भएको देखाइएको छ । भीडको चर्चा नगर्न ठिक हुन्छ । शीर्षक ‘संस्कार’ छोटो र उत्कण्ठा जगाउन सक्षम छ तापनि लघुकथाको मुख्य विषयवस्तुको प्रतिनिधित्व गर्न सफल लागेन ।
साधना गर्दै जाँदा गणेश कुमार श्रेष्ठजी राम्रो लघुकथाकार हुन सक्ने देखियो ।
धन्यवाद गणेश कुमार श्रेष्ठजी लघुकथा प्रेषित गर्नु भएकोमा ।
२०८० । ४ । १६
आनन्दआश्रम, फापरथुम-स्याङ्जा