काठमाडौँ, साउन २६ गते । आँखा कमजोर भएकाका लागि मोटो चस्माको विकल्पका रूपमा रहेको कन्ट्याक्ट लेन्स अहिले फेसनकै रूपमा लगाउन थालिएको छ ।
आँखाको शल्यक्रिया गर्न नचाहनेहरू अहिले चस्माको सट्टा कन्ट्याक्ट लेन्सतर्फ आकर्षित भएको पाइएको छ । आफ्नो आँखा कमजोर भएको अरूलाई थाहा नहोस् भनेर मानिसहरूले कन्ट्याक्ट लेन्स प्रयोग गर्न थालेका हुन् । आँखाको पावर माइनस ३ देखि माइनस ४ हुन्छ, त्यस्तो समस्यालाई लासिक भनिन्छ ।
यो समस्या भएका व्यक्तिहरूले हाई पावर भएको मोटो चस्मा लगाउनुपर्छ । यस्तो समस्या भएका मानिस प्रायःजसो आँखाको शल्यक्रिया गराउने गर्छन् । जो मानिस शल्यक्रिया गर्न डराउँछन्, उनीहरूले चस्मा र कन्ट्याक्ट लेन्स प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ ।
लायन्स आँखा अस्पतालका डा. अर्चना पोखरेलले कम उमेरमा धेरै पावरको चस्मा लगाउनुपर्ने भएकाले पनि कन्ट्याक्ट लेन्सप्रति मानिसको चासो बढ्दै गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कन्ट्याक्ट लेन्सको प्रयोग गरेपछि चस्माको प्रयोग गर्नु पर्दैन भने लेन्सको प्रयोगपछि आफ्नो आँखाको पावर कम छ भनेर अरूले थाहा पनि पाउँदैनन्, त्यसैले लेन्सका प्रयोगकर्ता बढेका हुन् ।”
लेन्सले आफू फेसनेबल देखिने बताउनुहुन्छ, सुनिता तामाङ । नीलो रङको लेन्स प्रयोग गर्दै आएका तामाङ भन्नुहुुन्छ, “चस्मा लगाउन अलि अप्ठ्यारो लाग्ने भएकाले लेन्सको प्रयोग गरेकी हुँ । चस्मा आफूले मन पर्ने रङ लगाउन पाइँदैन तर लेन्स कुनै पनि रङको पाइन्छ र त्यसले मलाई अरूभन्दा फरक रूपको पनि देखाउँछ ।”
यस्तै रूपक निरौलाको पनि भनाइ पनि फरक छैन । चस्मा लगाउँदा अलि कस्तो कस्तो देखिने कारणले पनि लेन्सको प्रयोग गरेको जानकारी उहाँले दिनुभयो । उहाँले पहिले चस्मा लगाउँदा साथीहरूले नाम नै ‘चस्मिस’ राखेका कारण लेन्सको प्रयोग गरेको बताउनुभयो । विशेष गरी १८÷२८ वर्ष उमेरका मानिस कन्ट्याक्ट लेन्सतर्फ बढी आकर्षित भएको पाइन्छ । त्रिपुरेश्वरस्थित फेमिली अप्टिक्सका सरस्वती श्रेष्ठले आफ्नो आँखाको नानीको रङ फरक देखाउन र पार्टीमा आफूलाई भिन्न देखाउन युवा पुस्ताले यसको प्रयोग गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा अहिले विभिन्न किसिमका कन्ट्याक्ट लेन्स उपलब्ध छन् । चीन, भारत र अमेरिकी कन्ट्याक्ट लेन्स बजारमा पाउन सकिन्छ । श्रेष्ठले यस्ता लेन्सहरू एक हजार दुई सयदेखि तीन हजार दुई सय रुपियाँसम्मका रहेका जानकारी दिँदै मानिसले चिकित्सकको सल्लाहमा आफूलाई ठीक हुने लेन्स खरिद गर्ने गरेको बताउनुभयो । सिलिकनबाट बन्ने यस्ता लेन्स धेरै तापका कारण पग्लिन सक्छन् । त्यसैले यी लेन्स प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । कन्ट्याक्ट लेन्सहरू सिल खोलेको एक वर्षसम्म मात्र प्रयोग गर्न सकिन्छ ।
लेन्सका केही बेफाइदा
आँखालाई चाहिने अक्सिजन लेन्सले छेक्ने हुँदा आँखा सुक्खा हुने, दृष्टि धमिलो हुनसक्छ । यसका साथै आँखा चिलाउने, परेली चिलाउने, एलर्जी र इन्फेक्सन जस्ता समस्या देखिन सक्छन् । यस्ता कुनै पनि समस्या देखा परेमा चिकित्सकको सुझाव आवश्यक पर्ने बताइन्छ ।