घुँडाको शल्यक्रिया गर्दा डाक्टरले शरीरभित्रै कपडा छाडेको भेटियो

जनकपुरधाम,भदौ १७ गते । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ ।

महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको भेटिएको हो ।

शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि बिरामीले पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीरभित्रै कपडा भेटिएको पीडित परिवारले जनाएको छ ।

५ भदौमा जनकपुरधाम बाह्रबिघाको उत्तरी पूर्वकुना नजिकको नवजीवन हस्पिटलमा डा. मुकुन्द झाले मन्दीपको घाउको शल्यक्रिया गरेका थिए ।

४ साउनमा मोटरसाइकल दुर्घटना भएर चोट लागेपछि मन्दीपले ३२ साउनमा नारायण इएनटी एण्ड प्लास्टिक सर्जरी सेन्टरमा कन्सलटेन्ट प्लास्टिक, रिकन्सट्रक्टिभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झासँग जाँच गराएका थिए ।

उनले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिएर नवजीवन हस्पिटलमा भर्न हुन आग्रह गरे । त्यसै दिन साँझ ४ बजे शल्यक्रिया गरे । आठ वटा टाँका लगाए । एक सातापछि डिस्चार्ज गरे, शल्यक्रिया र अस्पताल शुल्क गरी ६५ हजार रुपैयाँ लिएको मन्दीपका दाइ सन्तोष यादवले बताए ।

दुई/तीनदिन घरमा ड्रेसिङ गर्दा घाउबाट पीप आउन थाल्यो, फोन गर्दा डा. झाले उठाउन छाडेको सन्तोषले बताए ।

घुँडा निको नभएपछि १२ भदौमा मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । अर्थोपेडिक सर्जन डा. सन्दीप शर्माले पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको हो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →