काठमाडौं, साउन २२ गते । नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले हालसम्म सात हजार ७३३ जना सङ्क्रमित भएको जानकारी दिनुभयो । सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्नुहुँदै डा.मरासिनीले सबैभन्दा धेरै सङ्क्रमित सङ्ख्या सुनसरीमा रहेको बताउनुभयो । उहाँले ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो । डा.मरासिनीले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेला पनि डेंगु सर्न सक्ने बताउनुभयो । डेंगुबाट हालसम्म सात जनाको मृत्यु भएको डा. मरासिनीले जानकारी दिनुभयो ।
डा.मरासिनीले भन्नुभयो, ‘गत वर्ष करिब ५४ हजार ७८४ केसहरू रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजी स्वास्थ्य संस्थाको रेकर्ड हामीसँग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रूप लिने गरेको छ । सन् २०१९र सन् २०२२ मा महामारीको रूप लिएको थियो ।’’