काँग्रेसमा सङ्गठन पुनर्संरचना सहमतिमै

ललितपुर, साउन २७ गते । नेपाली काँग्रेसभित्र अन्तरिम व्यवस्था अनुसारको संरचना गठन सम्बन्धमा दुई पक्षबीच देखिएको विवाद अन्त्य भएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले

स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतले पारित गरेपछि स्थानीय तहको गठन सहमतिमै टुङ्ग्याउने बाटो समेत खुलेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले सचिवालयले तयार गरेको निर्देशिका सर्वसम्मतले पारित गरेको हो । निर्देशिकामा स्थानीय तह गठनको प्रक्रियासम्बन्धी व्यवस्थाहरू गरिएको छ । जस अनुसार सहमतिमै स्थानीय तह गठन हुनेछन् ।
यसअघि संस्थापन पक्षधर नेताहरूले काँग्रेस कमजोर रहेको अवस्थामा सहमतिमै उक्त संरचनाहरू गठन गर्नुपर्ने जोड दिँदै आउनुभएको थियो । संस्थापन इतरका केन्द्रीय सदस्यहरूले भने सहमतिको नाममा भागबण्डा गर्न नहुने भन्दै चुनावी प्रक्रियाबाट स्थानीय तह, क्षेत्रीय प्रतिनिधिहरूको चयन टुङ्ग्याउनुपर्नेमा जोड दिँदा दुई पक्षबीच विवाद भएको थियो ।
आइतबारको बैठकले पदाधिकारीले ल्याएको निर्देशिका सर्वसम्मतले पारित गरी लागू गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई आगामी महासमिति–महाधिवेशनमा पेश गरी अनुमोदन गरिनेछ ।
केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार निर्देशिका बमोजिम भदौ २० गतेभित्र विधान बमोजिम अन्तरिम व्यवस्था अनुसारको स्थानीय तहको गठन भइसक्नेछ । स्थानीय तहको गठन गर्दा साविकको गाविस अध्यक्षलाई गाउँपालिकाको वडाअध्यक्षको जिम्मेवारी दिइनेछ । त्यसैगरी हाल कायम गाउँपालिका÷नगरपालिकाका सभापतिलाई यथावत राख्ने निर्देशिकाले व्यवस्था गरेको केन्द्रीय सदस्य यादवले बताउनुभयो । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा ज्येष्ठताको आधारमा सहमतिमै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछन् ।
त्यसैगरी, बैठकले नेपाली काँग्रेसबाट निर्वाचित खोटाङको दिक्तेल रुपाकोटा मझुवाढी नगरपालिका वडा नं १ का वडा सदस्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकोमा उक्त विषयमा सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको छ । वडा सदस्य बैजनाथ रिजाल गत असार २० गते पार्टी परित्याग गरी नेकपा प्रवेश गर्नुभएको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम पार्टी परित्याग गरेमा निर्वाचित वडा सदस्य पद स्वतः रिक्त हुने व्यवस्था छ ।
बैठकले महान पर्व इद अल जोहाको अवसरमा इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेको छ । त्यसैगरी, पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *