काठमाडौँ, मङ्सिर ८ गते । समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । साथै उसले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे
सरकार र सत्तारुढ दलसँग वार्ता गर्न समिति गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो । मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए । उनी स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरित भएको भन्दै असहमति जनाएको छ । ‘यो गठबन्धन संस्कृति विपरित छ । यसप्रति हामी असहमत छौं, बैठकपछि अध्यक्ष यादवले भने । तर समाजवादी पार्टीकै कतिपय नेताहरुले भने जस्तो बैठकले सरकार छाड्ने निर्णय गरेन । यो सम्भावना तत्काल नरहेको एक पदाधिकारीले बताए ।
बैठकले मन्त्रिपरिषद पुनर्गठन र सहमति कार्यान्वयनबारे वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिएको छ ।