काठमाडौँ, मङ्सिर ८ गते । नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ।
त्यो पार्टी हो– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी।
गाँउ र सहर दुवै नछाड्ने, मध्यम वर्गलाई पनि साथ लिने र सहरी जनविद्रोहका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने रणनीतिका साथ विप्लवले अहिले भूमिगत शैलीमा पार्टी गतिविधि अघि बढाएको छ।
मंसिर ८ नेकपा ‘विप्लव’को पार्टी पुनर्गठन दिवस पनि हो। ०७१ मा तत्कालीन मोहन वैद्य (किरण), रामबहादुर थापा (बादल) लगायत नेता रहेको पार्टीसँग सम्बन्धविच्छेद गर्दै विप्लव स्वयंको नेतृत्वमा यो पार्टी जन्मिएको थियो। सुरुमा नेकपा माओवादीका नाममा पार्टी गतिविधि अगाडि बढाएको उसले ०७३ फागुनको महाधिवेशनपछि भने नेकपाको नाममा क्रियाकलाप गर्न थालेको हो। उसले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने कार्यनीतिका रुपमा ‘एकीकृत जनक्रान्ति’ अघि सारेको छ।
तर एकीकृत जनक्रान्तिको राजनीतिक कार्यक्रम र फौजी कार्यदिशा कस्तो हुन्छ ? अझै विप्लवले यसबारे सविस्तार बताएका छैनन्। सरकारले गत फागुन २८ यता विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउँदै तिनका नेता–कार्यकर्ता धरपकडको नीति लिएको छ।
सेना, प्रहरीसँग तत्काल जुध्ने पार्टीको नीति नभएको पनि बताउने तर राज्यका ‘अवयव’माथि धावा बोल्न पनि नछाड्ने नीति विप्लवको पार्टीले लिइरहेको छ। स्थानीय तहका वडा र गाउँपालिकाका कार्यालयमा आगजानी, आक्रमण, एनसेलमा आक्रमण, जनप्रतिनिधिले चढ्ने गाडीमा आक्रमण विप्लव नेतृत्वको नेकपाले पछिल्ला दिनमा गरेका केही प्रतिनिधिमूलक घटना हुन्। यसभन्दा अघि बढेर पार्टीले थप कुनै ठूला आक्रमण भने अहिलेसम्म गरेको छैन।
कार्यदिशामा अन्योल !
पुनर्गठनको छैटौं वर्षगाँठ मनाइरहँदासम्म विप्लवले पार्टीको राजनीतिक कार्यदिशाका विषयमा भने आफ्नै पार्टीका नेताहरूलाई समेत विश्वस्त बनाउन सकिरहेको देखिँदैन। कतिपय सन्दर्भमा पार्टी नेताहरू स्वयं पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन्। खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्योल छ। दीर्घकालीन छापामार युद्ध कि मध्यम वर्गलाई पनि साथ लिएर सशस्त्र जनविद्रोह भन्नेमा मतऐक्यता छैन। अन्नपूर्ण पाेस्टमा खबर छ।