काठमाडौँ, मङ्सिर २४ गते । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख दिन माग गरेको छ।
यस्तै रजत पदक विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख दिन पनि तरुण दलले माग गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज एक विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्। तेह्रौं सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।
तर, सँगसँगै तरुण दलले खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप पनि लगाएको छ।
‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।
खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुको चाकरीका लागि राखेपले दौरा सुरुवाल उपलब्ध गराएको तरुण दलको ठहर छ।
‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तर्रा्ष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा लेखिएको छ।