बागलुङ- बागलुङ नगरपालिकाको आयोजना आगमी माघ १६ गते देखी दास्रो मेयरकप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता संचालन गर्ने जानकारी गराएको हो ।
नगरपालिकाले माघ १६ गते शहिद दिवसको अवसरमा पारेर दोस्रो मेयरकप फुटबल प्रतियोगिता गर्ने निश्चित गरेको छ ।
२०७४ सालमा मेयर कप फुटबलको पहिलो सँस्करण आयोजना गरेको नगरपालिकाले ०७५ सालमा भने बजेट बिनियोजन गरे पनि बिभिन्न कारण देखाउदै निरन्तरता दिन सकेको थिएन ।
फुटबल खेलको विकास र खेल मार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ नगरपालिका स्तरिय खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाले यसवर्ष ए डिभिजन क्लबमा आबद्ध खेलाडी जिल्ला भित्राउने तयारी समेत रहेको बताएको छ ।
यसका लागि ‘ए’ डिभिजन खेल्ने खेलाडी आउने सुनिश्चित हुने सम्भावना रहेको खेल मिति केही हेरफेर हुन सक्ने नगर प्रमुख पौडेलले बताए ।
बागलुुङ नगरपालिकाले २०७७ साललाई बागलुङ भ्रमण बर्ष मनाउने घोषणा समेत गरेकाले यसको प्रचार प्रसारमा समेत टेवा पुग्ने नगरपालिकाको अपेक्षा छ ।
प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल संघ (एन्फा) बागलुङलाई प्रदान गरिएको छ । खेल सञ्चालनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । खेलमा १५ देखि २० नगरपालिकाले सहभागिता जनाउने एन्फाको अनुमान छ ।
प्रतियोगिताको पुरस्कार लगायतका अन्य तयारी नगरपालिका र एन्फाको साझा बैठकले तय गर्ने छ । ‘अघिल्लो बर्ष गर्न नसकिएको मेयर कप फुटबल यसपाली गर्ने निश्चित गरिएको सन्देश आम रुपमा प्रचार गर्न खोजिएको उपप्रमुख सुरन्द्र खड्काले बताए ।