काठमाडौँ, पुस १३ गते । कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्।काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत
हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको काम नपाएपछि अलपत्र परेका हुन्।
‘आएको तीन महिनासम्म कुर्दा पनि भनेको काम नदिएपछि हामी आफ्नै मुलुकको राजदूतावासको शरणमा जान बाध्य भयौं’, बिहीबार कुवेतबाट नेपाल फर्किएका प्युठानका जंगवीर सुनुवार र रोल्पाका मतिवीर पुन मगरले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘हामी त आयौं, तर त्यहाँ हाम्रा साथी अलपत्र छन्।’
त्यहाँ रहेका सबै नेपाली पीडामा रहेको र दूतावासलाई निवेदन दिँदासमेत सुनुवाइ हुन नसकेपछि ६ दिनको जरिवाना शुल्क तिरेर आफूहरू नेपाल फर्किएको सुनुवार र मगरले बताउनुभयो।भिजिट भिसाको तीन महिने म्यादसम्म कुनै काम नदिएको र भिसा प्रक्रिया पनि शुरू नगरेपछि आफूहरू नेपाल फर्किएको उहाँहरूको भनाइ थियो।
गएका ३२ जनामध्ये मात्र नौ जना कामदारको भिसा लागेको र अरू कसैको तीन महिने भिसा सकिसकेको त कसैको सकिन लागेको हुँदा उनीहरूले नेपाल फिर्तिका लागि हारगुहार गरेका हुन्। फर्किएका सुनुवारले एक लाख ५० हजार र मगरले एक लाख ६० हजार रुपियाँ म्यानपावरलाई बुझाएको बताउनुभयो।
‘साहुसँग ब्याजमा पैसा लिएर विदेश गई कमाएर घर परिवार पाल्ने आशाका साथ विदेश गइयो, अहिले समस्या परेर फर्कनुपरेको छ।’ –दुवै जनाको गुनासो थियो।महिनाको १२० केडी (कुवेती रुपियाँ) तलब दिने भनेर गएको आउने बेलासम्म जम्मा ४० केडी मात्रै दिएको गुनासो गर्दै यसले ब्याज तिर्न पनि नपुग्ने उहाँहरूको भनाइ थियो।
इन्फा गल्फ कुवेत फर जनरल ट्रेडिङ मेसिनरी एन्ड एकुप्मेन्ट कम्पनीमा गएका युवाहरू निवेदन लिएर राजदूतावास जाँदा उक्त कम्पनी ब्लाक लिस्टमा परेको हुँदा भिसाको प्रक्रिया हुन नसकेको उहाँहरूले जनाउनुभयो। गएका ३२ जनामध्ये चार जना फर्किसकेको र बाँकी पनि उद्धारको पर्खाइमा बसेको नेपाल फर्किएका पीडितहरूको गुनासो छ।