विश्‍वभर आज : भारतीय आन्दोलनकारीलाई पाकिस्तान जान चेतावनी, सोमालिया विस्‍फोटमा ७६ को मृत्यु

नयाँदिल्ली : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री सहित सरकारी उच्च अधिकारीले भारतमा जारी आन्दोलनमाथि टिप्पणी गर्दै आपत्तिजनक प्रतिक्रिया दिएका छन् ।

प्रहरीले मुस्लिम समुदायको प्रदर्शनलाई दमन गरेको आरोप अस्वीकार गर्दै उनीहरुले टिप्पणी गरेका हुन् ।

भारतीय जनता पार्टीका नेता समेत रहेका मुख्यमन्त्री योगी आदित्यनाथले प्रहरीमाथि लगाइएको आरोपको खण्डन गरे । प्रहरीले दमन गरेको भन्दै अधिकारकर्मी तथा मुस्लिम समुदायले आवाज उठाउँदा त्यसको खण्डन उनले गरेका हुन् ।

‘हरेक हिंसा अचम्मलाग्ने किसिमका छन् । योगी सरकारको कडाइप्रति प्रत्येक मानिस मौन छन्,’ योगी आदित्यनाथको भेरिफाइड ट्वीटरबाट सन्देश आएको छ । उनले चेतावनी शैलीमा उल्लेख गरेका छन्, ‘तिमी जे गर्न चाहन्छौ गर, तर क्षतिको भरपाइ गर्नुपर्नेछ’

उत्तर प्रदेशमै एक प्रहरी अधिकृतले मुस्लिम समुदायलाई लक्षित गर्दै ‘पाकिस्तान जाऊ !’ भन्ने भिडियो सार्वजनिक भएको केही घण्टामै योगीले चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन् । अखिलेश नारायण सिंह नामका प्रहरी अधिकारीमाथि प्रदर्शनकारीको हत्या, र बालबालिकामाथि समेत दमन गरेको आरोप मुस्लिम समुदायले आन्दोलनमा उठाउँदैआएका छन् ।

ती अधिकारीले प्रदर्शनकारीमाथि दमन गरेको भिडियो समेत सार्वजनिक भएको छ । मुख्यमन्त्री योगीले भने उनको बचाउ गर्दै प्रदर्शनकारीमाथि चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन् । केही प्रदर्शनकारीले प्रो पाकिस्तानी नारावाजी गरेको आरोप प्रहरी अधिकारी सिंहको छ । सोही नाराको जवाफ स्वरुप आफूले पाकिस्तान जान भनेको उनको तर्क छ ।

अफगान सैन्य क्याम्पमा तालिबानी हमला : १० सिपाहीको मृत्यु

काबुल : अफगानिस्तानको हेलमन्द प्रान्तस्थित सैनिक क्याम्पलाई लक्षित गर्दै तालिबान समूहले आक्रमण गर्दा १० जना सिपाहीको मृत्यु भएको छ । १८ जना सिपाही रहेको उक्त क्याम्पमा तालिबान समूहले हमला गरेको प्रहरीले जनाएको छ । जहाँ चार सिपाही घाइते छन् ।

प्रान्तीय प्रवक्ता ओमर जवाकले शक्तिशाली आक्रमण भएको पुष्टि गरेका हुन् । घटनापछि तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति निकाल्दै घटनाको जिम्मेवारी लिएका छन् । पछिल्लो समय अफगानिस्तानमा तालिबानी आक्रमण बढ्दोछ । अमेरिकासँग वार्ता स्थगित भएपछि तालिबानी आक्रमण बढ्न थालेको हो । यसअघि मात्रै बाल्ख प्रान्तमा तालिबानी विस्फोटबाट सातजना अफगान सिपाहीको ज्यान गएको थियो ।

सोमालियामा शक्तिशाली विस्फोट : ७६ जना मारिए, ७० घाइते

मोगादिसु : सोमालियाको राजधानी मोगादिसुमा शक्तिशाली कार बम हमला गरिँदा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमध्ये धेरैजसो विश्वविद्यालयका विद्यार्थी हुन् । घटनामा अरु ७० जना घाइते भएको बताइएको छ ।

मोगादिसुस्थित कर संकलन केन्द्रलाई लक्षित गर्दै विस्फोट भएको बताइएको छ । चार दशकदेखि सशस्त्र लडाइँ गर्दैआएको अल शबाब समूह सोमालियामा पनि सक्रिय छ । शनिबारको यो विस्फोट भने कसले गराएको भन्ने पष्टि भइसकेको छैन ।

अमेरिका भ्रमणको निम्तो इन्कार गर्ने फिलिपिनो राष्ट्रपतिको घोषणा

मनिला : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले अमेरिका भ्रमणको निम्तो अस्वीकार गर्ने घोषणा गरेका छन् । यही शुक्रबार मनिलास्थित राष्ट्रपति भवनबाटै उनले ह्वइट हाउस भ्रमणको निमन्त्रण आएमा अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

‘मैले हालै सम्झिए अनुसार, दुतेर्तेले भनेका छन् कि, उनले यस्तो निम्ता आए अस्वीकार गर्नेछन्,’ राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पानेलोले पत्रकार सम्मेलनमा बताए । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०१७ मा फोन कल मार्फत दुतेर्तेलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए ।

सिरियाली सहरबाट २ सातामै २ लाख ३५ हजार विस्थापित

मस्को : रुसी र सिरियाली सुरक्षाफौजको सैन्य कारवाही तिव्र हुँदा दुई हप्ताकै अवधिमा इडलिब क्षेत्रबाट २ लाख ३५ हजार मानिस भागेका छन् । गत डिसेम्बर १२ देखि २५ सम्ममा दक्षिण इडलिबको मारेत अल नुमान क्षेत्रबाट स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो जनाइएको हो । राष्ट्रसंघीय अन्तर्राष्ट्रिय मिडियाका अनुसार हाल सिरियाको इडलिब क्षेत्र लगभग खालीजस्तै छ । डिसेम्बर १९ यता सिरियाका दर्जनौं सहर हतियारधारी समूहको कब्जामा छन् । अगस्तको अन्त्यदेखि ४ लाख मानिस विस्थापित भएका छन् ।

ब्रुस लीको फोटो प्रयोग गरेको भन्दै रेस्टुरेन्टविरुद्ध मुद्दा

बेइजिङ : मार्सल आर्ट फिल्म स्टार ब्रुस लीकी छोरी सानोन लीले एक चिनियाँ रेस्टुरेन्टविरुद्ध मुद्दा दर्ता गरेकी छन्। पिताको तस्बिर रेस्टुरेन्टले बिना अधिकार प्रयोग गरेको उनको आरोप छ। उनले यस विषयमा रेस्टुरेन्टबाट २१० मिलियन युआनको माग गरेकी छन्।

१५ वर्षदेखि नै रेस्टुरेन्टले आफ्नो लोगोमा ब्रुस लीको तस्बिर प्रयोग गर्दै आएको सानोनको आरोप छ। यसका साथै उनले कम्पनीसँग लगातार ९० दिनसम्म यो मामिलाको स्पष्टिकरण दिन माग गरेकी छन्।

सानोन लस एन्जेल्स, ब्रुस ली इन्टरप्राइजेजका मालिक हुन्। जसले सुपर स्टारका तस्बिरको लाइसेन्स दिने काम गर्छ। १९९० मा सुरु भएको चैन रेस्टुरेन्टले २००४ देखि नै ब्रुस ली जस्तै देखिने एक व्यक्तिको लोगो प्रयोग गर्दै आएको छ। रेस्टुरेन्टका संस्थापकका अनुसार, देशभरी चैनको ६०० भन्दा बढी स्टोर छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →