बागलुङ– बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा छैठौ बागलुङ महोत्सव शुक्रबारबाट देखी सुरु भएको छ । प्रत्येक २/२ वर्षमा सञ्चालन हुँदै आएको बागलुङ महोत्सव पुष २० गतेसम्म सञ्चालन हुने भएको हो । बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार व्यवसायलाई प्रवद्धर्न गर्नको लागि महोत्सव गरिँदै आएको छ ।
महोत्सवको शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उदघाट्न गरेका छन । उदघाट्न समारोहमा बोल्दै अध्यक्ष तिमिल्सीनाले मेला महोत्सवको अधिकांश खर्च देशबाट वाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिदै आयात घटाएर निर्यात बढाउनुपर्ने बताए । तिमिल्सीनाले उद्योग सञ्चालन गर्नेको संख्यामा वृद्धि नभए सम्म मुलुकले समृद्धि हासिल नगर्ने भन्दै उद्योग स्थापनाका लागि उद्योग वाणिज्य महासंघ लागेमा सरकारले सहयोग गर्ने बताए ।
उनले नयाँ संविधानलाई सवैले स्विकार गरेर आएपनी ऐन तथा नियमावली बनाउने क्रममा समस्या सर्जना गर्न खोजिएको बताए । ‘संबिधानलाई सबैले ताली बजायौं’ तिमिल्सिनाले भने, ‘संबिधनालाई सफल कार्यान्वयनका लागि ऐन नियमवली बनाउदा खोचे थाप्ने काम बन्द गरौं ।’ उद्योगी व्यपारीको हितमा हुने कानुन निर्माणका निम्ती सरकार उनिहरुसँग सल्लाह गरेर बनाउनुपर्दछ ।
तिमिल्सिनाले लोकमार्गको बागलुङ घोडाबाधे खण्डमा सडक कालोपत्र नहुँनु दुखद् भएको भन्दै कुनै हालतमा पनि ठेकेदारलाई नछोड्ने बता ।
तिमिल्सिनाले तीनै तहले एउटै व्यवसायलाई कर लगाउने प्रवृतिको अन्त्य गर्न पर्ने भन्दै व्यवसाय गर्न सरकारले निरुत्साहन हैन प्रोत्साहन गर्ने योजनामा रहेको बताए ।
महोत्सवले भ्रमण वर्षलाई सघाउने अपेक्षा
उद्योग वाणिज्य संघले महोत्सवले भ्रमण वर्षलाई समेत सघाउ पुग्ने आयोजकको अपेक्षा रहेको छ । भ्रमण वर्षका रुपमा सरकारले मनाउन थालेको सन् २०२० लाई सहयोग पु¥याई बागलुङमा पर्यटक भित्राउनका लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
महोत्सवको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुसँगै सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो । महोत्सवमा लोक दोहोरी गीत प्रतियोगिता, फोटो प्रदर्शनी, कृषि प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगिता,हेलिकप्टरवाट दृश्य अवलोकन, प्याराग्र्लाडिङ, हस्तकला प्रदर्शनी, झाँकी प्रदर्शनी मुख्य आर्कषण्का रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा २ सय व्यवसायिक स्टलहरु रहेका छन् ।
महोत्सवको आम्दानी रकम सामाजिक कार्यमा खर्च गर्ने
यो वर्षको महोत्सव फरक बहुउद्देश्यीय रहेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । यो वर्ष हामीले महोत्सवबाट धेरै कार्यक्रम गर्ने लक्ष्य राखेका छौं, उनले भने ‘हामीले महोत्सवबाट जति धेरै आम्दानी गर्न सक्यौं त्यति हाम्रा सामाजिक कामहरु अगाडी बढ्ने भएकाले त्यही अनुसारको तयारीमा लागेका छौं । महोत्सवमा करिब एक करोड ५१ लाख रुपैयाँ आम्दानी र एक करोड २१ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट आम्दानी भएको रकमले बागलुङको पर्यटन, व्यवसाय लगायत अन्य विकासको काममा सहयोग गर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।
हामीले यो महोत्सवबाट गरिब विपन्न विद्यार्थीका लागि धौलागिरि क्याम्पसमा ५ लाख बराबरको अक्षयकोष स्थापना गछौं, पाँच लाख बराबरको शैक्षिक सामग्री दिने कुरा भएको छ,’ राजभण्डारीले भने ‘यो वर्षको मुनाफाबाट आर्थिक क्षेत्रमा खोजमूलक कमल चलाउने पत्रकारहरुलाई हरेक वर्ष दुई जना पत्रकार पुरस्कृत गर्नेगरी दुई लाख २२ हजारको अक्षयकोष पनि निर्माण गर्नेछौं ।’ महोत्सवमा बागलुङमा उत्पादित सुन्तला तथा अन्य स्थानीय उत्पादनको प्रवद्र्धन र विक्री वितरणका लागि २० वटा स्टल निर्धारण गरिएको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले बताए ।
पर्यटन वर्षको स्वागत बागलुङबाटै हुने
अघिल्लो पटकको महोत्सवमा पनि नयाँ वर्ष मनाउनका लागि पोखरा जाने धौलागिरिक ५० प्रतिशत युवायुवतीलाई हामीले यही रोक्न सफल भएका थियौं, उनले भने, यो पटक भिजीट नेपालको सुरुवात पनि हामीले त्यही मञ्चबाट नयाँ वर्षको स्वागतसंगै गर्नेछौं । महासचिव कँडेलले यस वर्षको महोत्सव अघिल्ला वर्षकोभन्दा फरक र सुरक्षित हुने बताए । महोत्सव स्थल वरिपरि सिसी टिभी जडान तथा फ्रि इन्टरनेटको समेत प्रबन्ध मिलाएको बताए । महोत्सवमा राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने मुल आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, ग्लोबल आइएमी बैंक तथा आइएमी ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेल, नेपाली कांग्रेस सभापती दिपेन्द्र थापा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संन्जिव कोइराला, गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेल,उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य दिल शुन्दर श्रेष्ठ, नेपाल पत्रकार महसंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, अमृत भट्टचन, पूर्व अध्यक्ष जयराम भारी, बसन्त कुमार श्रेष्ठ, धौलागिरि क्याम्पस प्रमुख राम प्रसाद उपाध्याय, पुर्व अध्यक्ष विराट कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुको धन्यबाद मन्तव्य र महासचिव नरेश कंडेललको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सवको उद्घाटनमा समारोहमा प्याराग्लाईडिङ, विभिन्न कला सस्कृति बोकेको झाँकी र मयुर नाँच प्रदर्शन गरिएको थियो ।
तश्विर :-नारायण रिजाल बागलुङ