बागलुङ –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको युवा संगठनका जिल्ला सचिव सहल बहादुर सुनारले प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् ।
बागलुङको गलकोट नगरपालिका–४ का २१ वर्षीय सुनारले सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङ समक्ष आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गरेसँगै उनी रिहा भएका छन् ।
उनलाई प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्री, प्रहरी उपरीक्षक नवराज भट्ट, नेकपा बागलुङका इन्चार्ज बलावति शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतको रोहवरमा छोडिएको हो ।
सुनारले आगामी दिनमा स्वतन्त्र जीवन बिताउने भन्दै आत्मसमर्पण गरेका हुन् । उनले विप्लव नेतृत्वले गरेको हिँसात्मक गतिविधि मन नपरेको भन्दै पार्टी परित्याग गरेको समेत घोषणा गरेका छन् ।
विज्ञप्ती मार्फत सुनारले अब आईन्दा नेपालको संविधान कानुन विपरित हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । सुनारले अब स्वतन्त्र नागरिकका हैसियतमा व्यवसाय र अध्ययन गर्ने बताए ।
सुनारलाई गत मंसिर १८ गते घरबाटै प्रहरीले पक्राऊ गरेको थियो । २५ दिनसम्म हिरासत बसेका उनलाई आइतबार साँझ मात्र जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
विप्लव माओवादीलाई सरकारले गत बर्षको फागुनमा प्रतिबन्ध लगाएपछि उक्त पार्टी गतिविधिमा स्थानीय प्रहरी प्रशासनले कडाई गर्दै आएको छ । सुनारले अब नेपालको संविधान कानुन बिपरित कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता व्यक्त गरेकाले १० दिनमा प्रहरीमा तारिख आउने गरि छोडिएको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए । आत्मसमर्पण गरे पनि निगरानीमा राखिने प्रजिअ क्षत्रीले जानकारी दिए ।