नेपालसहित दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा, श्रीलंका खडेरीसँग जुध्दै !

काठमाडौँ, साउन २ गते । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ। मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा

लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो। केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ।

प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन्। त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ। त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ। त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन्। ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ।

आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ। रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ। रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने– बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ। उनले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएकाे समाचारमा जनाइएको छ। यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तमिा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको पनि उनले बताए।

अहिले आफूहरु आपतकालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए। उनले भने– बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकोले यसले अझैं पनि ठूलो क्षति पुर्‍याउन सक्ने खतरा रहेको छ। भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन्। यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ नै बगाएको छ।

त्यसैगरी नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति पुर्‍याएकाे छ। यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ। उता बङ्गलादेशमा पनि बाढीले ठूलो असर पुर्‍याएको छ। जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन्। यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ। भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ।

यस्तै,

श्रीलङ्कामा अत्यधिक गर्मीपछि उत्पन्न सुख्खा मौसमका कारण साढे पाँच लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्। प्रकोप व्यवस्थापन केन्द्रले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पाँच लाख ६७ हजार ६६२ जना प्रभावित भएका हुन्।

उनीहरु एक लाख ५९ हजार १२३ परिवारका सदस्य रहेको पनि विवरणमा उल्लेख गरिएको छ। उनीहरुलाई तत्काल स्वच्छ पिउने पानी अत्यावश्यक रहेको केन्द्रका अधिकारीहरुको भनाइ छ।

केन्द्रका सहायक निर्देशक प्रदीप कोडिप्पीलीले सुख्खा प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीलगायतका सामग्रीहरु पठाउने कार्य भइरहेको जानकारी दिए। उनका अनुसार त्यस क्षेत्रमा सुख्खाका कारण कतिपय रोगहरु पनि फैलिएको छ भने मानिसको दैनिकी कष्टकर भएको छ। सुख्खाका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको र उनीहरुलाई गाह्रो भएको अधिकारीहरुले जानकारी दिएका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *