कैलाली साउन ३ गते । धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ भएको बम विस्फोटमा परि मृत्यु हुने रामबहादुर सिंह नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकै कार्यकर्ता रहेको पुष्टि भएको छ ।
बिस्फोटमा सख्त घाइते बझाङका सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो । विस्फोटमा परि घाइते कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेराला, धनगढीका जितेन्द्र यादव, होटेल सञ्चालक केशवराज पाण्डेय र ठेगाना नखुलेका मोबिन खानको उपचार भने उपचार भइरहेको छ ।
विस्फोटको जिम्मा विप्लव नेतृत्वकै नेकपाले आज (शुक्रबार) विज्ञप्तिमार्फत लिएको छ । धनगढी उपमहानगरपालिकाको सहिद गेटनजिकै रहेको नीलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा सिंहसहित ५ जना घाइते भएका थिए । प्रहरीका अनुसार विस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको थियो ।
नेकपाको सेती-महाकाली ब्युरोले विज्ञप्ति प्रकाशित गर्दै पार्टी कार्यकर्ताले आत्मसुरक्षाका लागि बोकेको बम विस्फोट भएको बताएको छ ।
ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिका भनिएको छ, ‘हिजो साँझ धनगढी उपमहानगरपालिका सहिद गेटनजिकै पार्टी कामको सिलसलामा आत्म-सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा शाहदत प्राप्त गर्नुहुने रामबहादुर सिंह क. राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’ विज्ञप्तिमा मृतक सिंहका परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै घटनामा सर्वसाधरण नागरिक पर्न गएकोमा दुःख व्यक्त गरिएको छ ।
यस्तै उपचारमा कुनै कमी हुन नदिन अस्पताल र डाक्टरहरुसँग विज्ञप्तिमा अनुरोधसमेत गरिएको छ । ‘घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन विनम्र अनुरोध गर्दछौँ ।’
घटना हुनुको मुख्य कारण दलाल संसदीय व्यवस्था भएको भन्दै नेकपाले घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।