नेकपामा विभाग र समितिको गृहकार्य

काठमाडौँ, साउन ४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विभाग र समितिको गृहकार्यमा बहस सुरु भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

‘प्रचण्ड’ले केन्द्रीय समितिको कार्यविभाजन र एकता प्रक्रिया केही दिनअघि टुुङ्गो लगाइसकेपछि विभाग र समितिमा कसलाई जिम्मेवारी दिने विषयमा पार्टीभित्र बहस सुरु भएको हो । त्यसका लागि अध्यक्षद्वयले खाका बनाइसक्नुभएको बताइएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको खाकामा साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा छलफल हुने तय भएको छ । तर, त्यसअघि नै पार्टीका अन्य नेतासँग सहमति जुटाउन अनौपचारिक छलफल भइरहेको पार्टीका स्थायी समिति सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । विभिन्न ३२ वटा विभागमध्ये १८ वटा तत्कालीन नेकपा (एमाले) र १४ वटा तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रका नेताले छुट्टाछुट्टै छलफल पनि गरेका छन् । छुट्टाछुट्टै भएका अनौपचारिक छलफलमा सचिवालय सदस्य माधवकुमार नेपाललाई विदेश विभाग र अर्का सदस्य वामदेव गौतमलाई सङ्गठन विभाग प्रमुख दिनेमा सहमति भइसकेको जनाइएको छ । यसमा अध्यक्षद्वय ओली र प्रचण्ड पनि सहमत रहको बताइएको छ ।
प्रचार विभाग र स्कुलिङ विभागमा अझै कुरा मिलेको छैन । स्कुलिङ विभागमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलको दाबी रहेको एक जना सचिवालय सदस्यले जानकारी दिनुभयो ।
यद्यपि स्कुलिङ विभाग र प्रचार विभाग तत्कालीन माओवादी केन्द्रको भागमा परेको हुनाले त्यसको प्रस्ताव अध्यक्ष प्रचण्डले नै गर्ने स्रोतले जनाएको छ । सचिवालयका सदस्य झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख दिने सहमति तत्कालीन एमालेका नेताहरूको बीचमा सहमति भएको बताइएको छ । यसअघि पनि उहाँले नै यसको नेतृत्व गर्नुभएको थियो ।
कुन विभागमा कसलाई राख्ने विषयमा आन्तरिक गृहकार्य भए पनि औपचारिक तय भने साउन ५ गते लाग्ने नेता नेम्वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुख्य विभागहरूमा यिनैमध्ये कसैलाई राखिने छ तर ती सबै कुराको टुङ्गो सचिवालयको बैठकमा लागउने छ । ”
पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार अहिले चर्चामा आएका व्यक्तिमध्ये नै मुख्य विभागहरूको नेतृत्वमा आउनुहुन्छ तर यी सबै छलफलकै क्रममा रहेकाले केही भन्न सकिने अवस्था छैन । उहाँले यसको बारेमा आ–आफ्नो तरिकाले छलफल भइरहेको र सबै कुराको टुङ्गो साउन ५ गते लाग्ने बताउनुभयो । साउन ५ गते सचिवालयको बैठक बस्दै छ ।
नेकपाका ३२ वटा विभाग छन् । प्रत्येक विभागमा ३५ जना सदस्य रहने तय भएको छ र त्यसमा २० जना तत्कालीन एमालेबाट र १५ जना तत्कालीन माओवादी केन्द्रबाट रहने छन् । जिल्ला इन्चार्ज तथा सहइन्चार्जमा पूर्वएमालेका ४४ र पूर्वमाओवादीका ३३ जना रहने सहमति भएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *