औषधी व्यवस्था विभागले अभाव औषधिबारे ७ दिनभित्र जानकारी गराउन देशभरका चिकित्सकहरूलाई आग्रह गरेको छ ।
विभागले मानिस तथा पशुपंक्षीको जीवनरक्षक औषधी अभाव भएको विषयमा ७ दिनभित्र जानकारी गराउन आग्रह गरेको हो ।
सम्बन्धित चिकित्सकहरुले औषधिको अभावको बारेमा जानकारी गराए अभाव भएका औषधि उपलव्ध गराउन पहल गरिने विभागका निमित्त महानिर्देशक तान बहादुर क्षत्रीले बताउनुभयो ।
उहाँले अभाव भएको औषधीको बारेमा जानकारी पाएपछि औषधी उत्पादक कम्पनीसँग छलफल गर्ने र आवश्यक औषधीको दर्ता प्रक्रियामा पनि स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर नितिगत निर्णय गरिने बताउनुभयो ।
पटक पटक औषधी अभाव भएको जानकारी आएसँगै विभागले औषधि अभावबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि औषधि अभावबारे जानकारी गराउँदा पनि गम्भीरतापूर्वक नलिइएको आरोप विभाग माथि लागेको थियो ।
विभागका अनुसार, अभाव औषधिबारे खुलाएर चिकित्सकहरूले विभागको इमेल वा केन्द्रीय कार्यालयमा सोझै सम्पर्क राखेर त्यसबारे जानकारी दिन सक्नेछन् ।