भैरहवा, साउन ४ गते । सिमेन्टका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर उत्पादनमा मुलुक आगामी वर्षदेखि आत्मनिर्भर बन्ने देखिएको छ । एक दशकअघिसम्म मुलुकका दुई
सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिंकरमा निर्भर थिए ।
अब एक वर्षभित्र उद्योगका लागि मुलुकमा उत्पादित क्लिंकरले पुग्ने दाबी रुपन्देहीका उद्योगीले गरेका छन् ।
“केही वर्षदेखि क्लिंकरमा परनिर्भरता घट्दै जान थालेको छ”–नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले भन्नुभयोे, “अबको एक वर्षमा आत्मनिर्भर हुने अवस्था छ ।” अहिले क्लिंकर उत्पादनका साथै ठूला सिमेन्ट उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि परनिर्भरता घटिरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले वार्षिक ७० लाख टन क्लिंकर खपत हुने गर्छ । गत आर्थिक वर्षमा करिब ३० लाख टन क्लिंकर आयात भएको थियो । पाँच वर्षअघिसम्म कुल खपतको झन्डै ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुने गथ्र्यो । पछिल्लो वर्ष यसको आयात घट्दो क्रममा छ ।
र्थिक वर्ष ०७३/७४ मा करिब ४० प्रतिशत, आर्थिक वर्ष ०७४/०७५ मा करिब ३० प्रतिशत क्लिंकर आयात भएको थियो । गत आर्थिक वर्ष ०७५/७६ मा करिव १५ प्रतिशत अर्थात दुई अर्व ३२ करोडको मात्रै क्लिंकर आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष ०७६/०७७ मा मुलुक आत्मनिर्भर हुने उद्योगीको दाबी छ । यस अवधिमा ठूलो परिमाणमा क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा आउने उद्योगी अग्रवालले बताउनुभयो । यहाँ उत्पादन भएको क्लिंकरका कारण आर्थिक वर्ष ०७४/७५ मा ३५ अर्ब रुपैयाँ बराबरको भारतीय क्लिंकरको आयात घटेको देखिन्छ । आर्थिक वर्ष ०७५/७६ मा ६ अर्व ६२ करोड रुपियाँको मात्रे क्लिंकर आयात भएको भन्सारका सूचना अधिकृत पौडेलले बताउनुभयो ।
आगामी वर्ष यहाँको उत्पादन बढ्ने र आयात रोकिने व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार आगामी वर्षभित्रमा ६५ अर्ब रुपैयाँ बराबरको क्लिंकर आयात रोकिनेछ । चुरे पहाडमा क्लिंकर उत्पादनका लागि आवश्यक चुनढुंगा खानी प्रशस्त छन् । तिनको सदुपयोग हुन थालेपछि यहाँ उत्पादन बढेको हो । नेपालका अधिकांश क्लिंकरसहितका ठूला सिमेन्ट उद्योग चुरे आसपास र नजिक स्थापना भइरहेका छन् ।
वि.सं २०५५ सालबाट क्लिंकर आयात गरी त्यसलाई पेलेर (ग्रान्डिङ युनिट) सिमेन्ट उत्पादन सुरु भएको हो । अहिले नेपालमा यस्ता ग्रान्डिङ युनिटका सिमेन्ट उद्योग चार दर्जनको हाराहारीमा छन् । वि.सं २०६८ देखि क्लिंकरसहित उत्पादन सुरु गरेको अर्घाखाँची सिमेन्ट निजी लगानीको पहिलो ठूलो सिमेन्ट उद्योग हो ।
अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धव कार्कीले आगामी वर्षमा ठूलो परिमाणको क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने थप चारवटा उद्योग सञ्चालनमा आउने बताउनुभयो । “ती उद्योग सञ्चालनमा आएपछि नेपाललाई आवश्यक पर्ने क्लिंकर स्वदेशमै उपलब्ध हुनेछ,” उहाँले भन्नुभयो, “पश्चिम नवलपरासीमा पाल्पा सिमेन्ट, मकवानपुरमा रिद्धिसिद्धि, उदयपुरमा सौर्या र दाङमा सम्राट सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छन् ।” एक वर्षमा घोराहीले वार्षिक ७ लाख टनबाट उत्पादन विस्तार गरी १४ लाख, सर्वोत्तमले चार लाख टनबाट १० लाख र अर्घाखाँची सिमेन्टले चार लाख टनबाट बढाएर १० लाख टन पु¥याएका छन् ।
हाल मुलुकमा वार्षिक ४० लाख टन क्लिंकर उत्पादन भइरहेको छ । ‘दुई वर्षभित्र वार्षिक ७० लाख टन क्लिंकर उत्पादन हुनेछ,’ कार्कीले भन्नुभयो, ‘अब क्लिंकरमा नेपाल आत्मनिर्भर बन्ने निश्चित छ ।’