काठमाडौं साउन ५ गते । देशभरको बिजुलीको माग आधा कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गरेको छ । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले
सोही प्रसंगलाई लिएर भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु भएको बताएका छन् ।
वर्षामा बढी हुने बिजुली नेपालबाट भारतमा पठाएर हिउँदमा त्यति नै बिजुली भारतबाटै ल्याउने अवधारणा हो, ‘इनर्जी बैंकिङ’ । ‘पैँचो’ को रुपमा भारत र नेपालबीच हुने इनर्जी बैंकिङका विषयमा ऊर्जा सचिवस्तरीय समझदारी भइसकेको छ । तर, यसको लागि निर्देशिका बनेर अन्तिम सम्झौता भएको छैन भने नेपालले २ सय मेगावाटसम्म बिजुली भारतलाई कसरी बेच्यो त ?
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी भन्छन्, ‘हामीले नेपाल–भारत विद्युत् अदानप्रदान समिति’मार्फत भारतमा बिजुली पठाइरहेका छौं । हाल नेपालले दुई तरिकाले भारतबाट बिजुली आयात गर्दैछ । पहिलो ऊर्जा अदानप्रदान समितिमार्फत र दोस्रो विद्युत् ब्यापारको लागि तय भएको नोडल एजेन्सीमार्फत ।
तर, फाटफुट रुपमा मात्रै नेपालले भारतमा बिजुली पठाउँछ । भारतबाट आउने विद्युतको तुलनामा जाने परिमाण नगण्य छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालले गत आर्थिक वर्षको असार १५ गतेसम्म करिब २३ अर्बको बिजुली भारतबाट नेपाल ल्याएको छ । तर, त्यो अवधिसम्म नेपालले करिब १२ करोडको मात्रै बिजुली भारत पठाएको छ ।
नेपालले भारतसँग सन् १९७१ मा नै पावर एक्सचेन्ज एग्रिमेन्ट अर्थात् विद्युत् आदानप्रदान सम्झौता गरेको थियो ।