नयाँदिल्ली साउन ५ गते । भारतीय राष्ट्रिय कंग्रेसकी वरिष्ठ नेतृ तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी दीक्षितको
नयाँदिल्लीस्थित एस्कर्ट फोर्टिस अस्पतालमा शनिबार हृदयाघातका कारण निधन भएको चिकित्सकले बताए ।
भारतीय राजनीतिमा दीक्षित शालीन र जुझारु राजनीतिज्ञका रूपमा परिचित थिइन् । विशेष गरी दिल्लीमा उनको छवि निकै नै लोकप्रिय थियो । साढे तीन दशक लामो राजनीतिक जीवनमा उनी १५ वर्ष दिल्लीको मुख्यमन्त्रीकारूपमा रहिन् । उनी सन् १९९८ देखि २०१३ सम्म निरन्तर ३ कार्यकाल मुख्यमन्त्री रहिन् ।
नयाँदिल्लीलाई विश्वका अन्य राजधानीका तुलनामा आधुनिक बनाउने श्रेय पाएकी दीक्षितले मेट्रो रेल सेवाको परिकल्पना र निर्माण सुरु गराएकी हुन् । उनकै नेतृत्वमा दिल्लीमा दर्जनौं फ्लाइओभर निर्माण गरिए । दीक्षितले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै कल्याणकारी कार्यक्रम लागू गरिन् ।
हालै सम्पन्न लोकसभाचुनावमा नमिठो हार व्यहोरेसँगैनेतृत्वको संकट खेपिरहेको भारतीय राष्ट्रिय कंग्रेसका लागि शिलाको निधनले
थप चोट पुगेको छ । उनी नेहरू–गान्धी परिवारकी विश्वासपात्रसमेत थिइन् ।
शिला सन् १९८४ को राजीव गान्धी नेतृत्वको सरकारमा केन्द्रीय मन्त्रीसमेत थिइन् । दिल्लीमा कंग्रेसको खम्बा मानिने दीक्षित सन् २०१३ मा सम्पन्न विधानसभा चुनावमा नराम्रो हार व्यहोरेपछि सक्रिय राजनीतिबाट क्रमशः टाढिँदै गइन् । त्यसपछि दक्षिण भारतीय राज्य केरलाको गभर्नर नियुक्त शिलाले केन्द्रमा भारतीय जनता पार्टीको सरकार बनेसँगै पद त्यागिन् ।
सन् २०१७ को उत्तरप्रदेशको विधानसभा चुनावमा पार्टीले मुख्यमन्त्रीका रूपमा अघि सारे पनि उनले असमर्थतता जनाइन् ।करिब दुई वर्ष सक्रिय राजनीतिबाट टाढा रहेकी दीक्षितलाई कंग्रेसले१७ औं लोकसभा चुनावको पूर्वसन्ध्यामा पुनः एकपटक दिल्लीकोजिम्मेवारी दियो ।
दीक्षितको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । कंग्रेस नेता राहुल गान्धीले दीक्षितको निधनले आफू अत्यन्त दुःखी भएको र कंग्रेसले एउटी छोरी गुमाएको बताए । नयाँदिल्लीको राजनीतिमा दीक्षितका तीव्र आलोचक भनेर चिनिने मुख्यमन्त्री अरविन्द केजरीवालले उनको निधनले ठूलो क्षति भएको बताए ।