यसकारण साउनभर शिवको आराधना !

काठमाडौँ, साउन ६ गते । अहिले साउनको महिना चलिरहेको छ । हिन्दुधर्मावलम्बी यसलाई पवित्र महिनाका रुपमा मान्ने गर्छन् । साउनको सोमबार झन् विशेष मानिन्छ ।

अझ साउनलाई शिवको महिना मान्ने गरिन्छ । साउनलाई शिवको प्रिय महिनाका रुपमा लिइन्छ ।

साउनको प्रत्येक सोमबार विशेषगरी महिलाहरु पतिको दीर्घायुका लागि व्रत (उपवास) बस्ने गर्छन् । साउनभर शिवको आराधना गरिन्छ । साउन सुरु भएसँगै चाडबाड पनि सुरु हुने संकेतका रुपमा लिन सकिन्छ । हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने जनविश्वास पनि छ ।

साउन महिनामा सूर्य कर्कट राशिमा रहने भएकाले धेरै गर्मी हुने र निरन्तर झरी पर्ने तथा कृषक खेतमा काम गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासँग सम्बन्धित रोगहरु विशेषगरी लुतो, दाद, घमौरा आउने बढी सम्भावना उत्तिकै रहन्छ । साउनभरि वर्षा पनि धेरै हुने भएकाले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ ।

आज साउनको पहिलो सोमबार शिवालयहरुमा महिलाहरुको भीड लागेको छ । भगवान् शिवको पूजा आराधना एवं दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउने सोमबारको महत्त्व

साउने सोमबार हिन्दुधर्मालम्बीहरूका लागि विशेष महत्त्वको दिन हो । यस दिन महिलाहरु भगवान् शिवको व्रत बस्छन् । हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमबारको खास महत्त्व छ ।

साउने सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू, बाँकेको बागेश्वरी, काठमाडौंको पशुपतिमा विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

जुनसुकै भूभागमा बस्ने पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुजा-अर्चनाका साथ व्रत बस्ने परम्परा छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगाएर शिवको पूजा गरी व्रत बस्छन् । पुरुषहरू पनि पहेलो वस्त्रमा शिवको मन्दिरमा पूजा-अर्चनाका लागि पुग्छन् ।

सोमबार व्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खाएर व्रत समाप्त गर्ने गर्छन् । शिव जस्तै वर पाउँ भनी पनि व्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र पतिको स्वास्थ्य लाभको कामना गदै व्रत बस्ने गर्छन् भने् अविवाहित महिला राम्रो पति तथा शिवजी जस्तो वर पाउँ भनी व्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्छन् । साउनभर चोखो खाएर माछामासु नखाईकन शुद्ध भएर बस्ने गरिन्छ । कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाईकन १ महिनै शुद्ध चोखो खाएर बस्छन् । यसरी १ महिनासम्म व्रत बसेर साउन मनाइन्छ । बोलबम पनि यही महिनामै जाने गरिन्छ ।

मध्य युरोपका देशहरुमा समेत सोमबारको खास महत्त्व छ । मध्य युरोप, खासगरी पोल्यान्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेनलगायत देशका क्रिस्चियनहरुमा सोमबारको दिन केटीहरु पानी-पानी हुने दिन हो । सोमबारका दिन केटाहरुले केटीहरुलाई पानीले भिजाइदिने गर्छन् । अझ आफूलाई मन परेको केटीलाई पानी छ्यापेर टाउकोदेखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरुले जितेको सम्झिन्छन् । यस्तो संस्कारलाई वेट मन्डे अर्थात् भिजेको सोमबार भनिन्छ । भिजेको सोमबार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ । वर्षैभरका सोमबार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष रुपमा मनाए झैँ मध्य तथा पूर्वी युरोपका इसाई धर्मावलम्बीहरुले खासगरी क्रिस्चियनहरुको पवित्र सप्ताह इस्टरको दोस्रो दिन अर्थात् इस्टर मन्डेको दिन यसरी महिलालाई पानीले भिजाउने गरिन्छ । केटाहरु बोतल तथा बाल्टीमा पानी भरेर केटीहरुलाई लखेट्दै खन्याइदिने चलन छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *