भक्तपुर, साउन ८ गते । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका
पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ ।
यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ । परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने र त्यसबाट परीक्षार्थी अन्यायमा पर्ने गरेको तथ्य परीक्षा नियन्त्रण कार्यालयकै अध्ययनले प्रमाणित गरिसकेको छ । त्यसैले अभिभावक, विद्यार्थी तथा विद्यालयका पदाधिकारीले निकै अघिदेखि प्रवेशिका परीक्षाको उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्थाका लागि माग गर्दै आएका थिए ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस्तो अभ्यास यसैपटकबाट थालनी गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “सम्बन्धित विद्यार्थी, उनका अभिभावक र सम्बन्धित विषयका विज्ञलाई राखेर पुनःपरीक्षण गराउने व्यवस्था थाल्दै छौँ । यसबाट विद्यार्थी र उनका अभिभावक सन्तुष्ट हुन सक्ने छन् । ” उत्तरपुस्तिका पुनःपरीक्षणका लागि शुल्क तोक्न बाँकी छ ।
प्रवेशिका परीक्षामा पुनःपरीक्षणको व्यवस्था नौलो होइन । राणाकालमा पनि यस्तो सुविधा विद्यार्थीलाई प्रदान गरिन्थ्यो । त्यो बखत प्रधानाध्यापकमार्फत ‘परीक्षा नियन्त्रकको कार्यालय’मा ‘पाएको नम्बर दोहो¥याई पाऊँ’ भनी दरखास्त दिनुपथ्र्याे ।
वि.सं. २००४ वैशाख १ गतेको गोरखापत्रमा “एसएलसी रेगुलेसनबमोजिम कापी दोहो¥याई जाँच्दा २००३ सालको एसएलसी परीक्षा पास हुन आएका स्कुलमा पढी जाँच दिने केदारलाल श्रेष्ठ तेस्रा श्रेणीमा पास भएको छ । हरमणि आदी भनेर सूचना छापिएको थियो । हरमणि आदी त्यसबेलाका परीक्षा नियन्त्रक हुनुहुन्थ्यो ।
उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा उत्तीर्ण भएको अवस्था २००६ सालमा पनि देखिएको थियो । उत्तरपुस्तिका पुनःपरीक्षण गराउँदा तृतीय श्रेणीमा उत्तीर्ण भएका दिवाकरविक्रम राणा दोस्रो श्रेणीमा र अनुत्तीर्ण भएका रामनिधि तेवारी तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । पछि यस्तो सुविधा हट्यो । कहिलेबाट हटेको भन्ने यकिन छैन ।
उत्तरपुस्तिकाका प्रतिलिपि हेर्न चाहने परीक्षार्थी थुप्रै हुन्थे तर गोपनीयता कायम राख्नुपर्ने भएकाले उत्तरपुस्तिका देखाउने अभ्यास भने थिएन । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि परीक्षक तथा सम्परीक्षकको नाम नामेसी नखुल्ने गरी उपलब्ध गराउन आदेश दिएपछि २०६८ सालबाट उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउन थालियो । पनिकाका अनुसार २०७५ सालको एसईई परीक्षाको नतिजा चित्त नबुझेको भन्दै पुनर्याेगका लागि सानोठिमीस्थित पनिकामा करिब आठ हजारले आवेदन दिएका छन् । हुलाकबाट पठाएर वाजिल्लास्थित शिक्षा निकायबाट पनि यस्तो आवेदन दिन पाउने भएकाले थप दुई हजारको आवेदन आउन सक्ने अनुमान पनिकाले गरेको छ । पुनर्याेगका लागि प्रतिविषय पाँच सय रुपियाँ बुझाउनुपर्ने नियम छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पुनर्याेगका लागि आवेदन दिनेहरूले प्रतिलिपि वा पुनःपरीक्षण गर्न सक्ने बताउँदै प्रतिलिपि लिन चाहनेहरूले पछि पुनःपरीक्षणको सुविधा माग गर्न नपाउने स्पष्ट गर्नुभयो । गत वर्षबाट कक्षा ११ र १२ मा पनि पुनःपरीक्षणको सुविधा सुरु भएको थियो । ती कक्षामा प्रतिविषय दुई हजार रुपियाँ बुझाएर पुनःपरीक्षण गराउन सक्ने व्यवस्था छ ।