अंग्रेजी नयाँ वर्ष २०२० शुरु, प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, पुस १६ गते । नेपालसहित विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइँदैछ । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा

विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका पर्यटकीय क्षेत्रहरुमा मानिसहरु भेला भएका छन् । विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले सन् २०२० सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गर्नुभएको छ ।

उहाँले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष अन्तरराष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गर्नुभएको छ ।

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशाहरु विनिमय गरी समय बिताउने हाम्रो सामाजिक प्रवृत्ति संक्रमणकालीन संशयलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →