पुस १७ गते । सरुवा भएर पनि जिल्ला छाड्न अटेर गरेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ।
सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि उलाई यस्तो निर्देशन दिनुपरेको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ।’’
प्रहरी प्रधान कार्यालयले यहि पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरुवा गरेको थियो। एसपी मल्लको ठाउँमा गंगा पन्तको सरुवा भएको थियो। मल्ललाई चितवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।