काठमाडौँ, पुस १९ गते । काठमाडौं उपत्यकासहित देशैभरि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनदेखि सक्रिय पश्चिमी न्यूनचापीय वायु प्रणालीका कारण आज पनि पश्चिमदेखि पूर्वसम्मै उच्च पहाडी र हिमाली भेगमा हिमपात तथा मध्य पहाडी र तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको हो।
महाशाखाका अनुसार अहिले बिहानदेखि नै ती क्षेत्रमा हिमपात तथा वर्षाको सम्भावना छ। आज पनि हिजोजस्तै दिनभर वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। उनीहरुले आज साँझदेखि मौसममा सुधार हुने अपेक्षा समेत लिएको बताए।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जरी गर्दै मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।
शुक्रबार उच्च पहाडी तथा हिमाली भेगमा व्यापक हिमपात हुँदा जनजीवन कष्टकर भएको छ। वर्षा र हिमपातका कारण कतिपय राजमार्ग र विमानस्थलसमेत अवरुद्ध भएका छन्।
शुक्रबार सबैभन्दा बढी दिपायलमा ६२ दशमलव ३ मिलिमिटर वर्षा भएको थियाे। काठमाडौं उपत्यकामा भने ३.८ मिलिमिटर वर्षा भएको छ।
यस्तै शुक्रबार वीरेन्द्रनगरमा ३८ दशमलव ७, डडेल्धुरामा ३५ मिलमिटर वर्षा भएको छ। पोखरामा ३०, दाङमा २४ दशमलव ९ र भैरहवामा ३१ दशमलव ३ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।