विश्‍वभर आज : अमेरिकी आक्रमणमा इरानी कमाण्डर मारिएपछि तनाव, भारतीय कानुनको विरोधमा तेस्रोलिंगी समुदाय

कुवेत : कुवेतकी एक मेकअप आर्टिस्टले आफ्नै अनुहारमा कालो रंग पोतेको तस्बिर र भिडियो सार्वजनिक गरेपछि ‘रंगभेद’ फैलाएको भन्दै उनको चर्को आलोचना भएको छ ।

मेकअप आर्टिस्ट घदीर सुल्तानले आफ्नो इन्स्टाग्राममा गत बुधबार सर्ट भिडियो क्लिप पोस्ट गरेकी थिइन् ।

साथै उनले ‘हामी विश्व हौँ’ बोलको गीत पृष्ठभूमिमा शेयर पनि गरेकी थिइन् । भिन्न छालाको रङ र नक्कली कपाल पनि उनले जोडेकी थिइन् । यसरी उनले पोस्ट गरेको तस्बिरमा ४४ हजार लाइक आएको थियो । सुल्तानको पेजमा २० लाख फलोअर्स छन् ।

यससँगै सुल्तानलाई आलोचना गर्दै कमेन्टको आइरो आउन थाल्यो । कतिपयले भने उनले केही गल्ती नगरेको भन्दै बचाउ गरेका छन् । एकजना इन्स्टाग्राम प्रयोगकर्ता बाराकदमले भनेका छन्, ‘तिमीले यो कसरी राख्यौ अर्थ राख्दैन, यो रंगभेद नै हो ।’

यस्ता धेरै आलोचनात्मक टिप्पणी आएपछि सुल्तानले आफ्नो अर्को कालो अनुहार सहितको तस्बिर राख्दै आफू रंगभेदी नभएको प्रतिक्रिया दिएकी छन् । ‘म रंगभेदलाई घृणा गर्छु । म केको लागि सक्षम छु भनेर देखाउन मात्रै यस्तो गरेकी हुँ । म तपाईँ सबैलाई माया गर्छु !,’ सुल्तानले जवाफ दिँदै लेखेकी छन् ।

तर उनलाई प्रतिप्रश्न गर्दै एकजनाले लेखेका छन्, ‘यदी तिमी आफ्नो बहुप्रतिभा देखाउन चाहन्छ्यौ भने साँच्चिकै एक अश्वेत मोडेलको मेकअप गरिदेऊ ।’ ट्वीटरमा सुल्तानका समर्थक र विरोधीबीच यही विषयलाई लिएर छेडखानी सहित बाझाबाझ समेत भएको छ ।

यसरी कुवेतको सेलिब्रिटीले अभिव्यक्तिका कारण विरोध र विवाद झेल्नु परेको यो पहिलो घटना हो । गत वर्ष ब्लगर सान्डोस अल कत्तानले कुवेती कानुनको विरोध गरेकोमा चर्को आलोचना र गाली खेप्नु परेको थियो ।

अमेरिकी हवाइ हमलामा इरानी कमाण्डरको मृत्‍यु

बगदाद : अमेरिकी रकेट आक्रमणमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएको छ। शुक्रबार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन्।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ। इरानी विदेश मन्त्री जावेद जरीफले सुलेमानीको हत्या ‘अन्तर्राष्ट्रिय आतंकवादको कार्य’ भएको प्रतिक्रिया दिएका छन्। उनले ट्वीट गर्दै अमेरिकाको यस्तो किसिमको ‘दुष्टता’को सम्पूर्ण परिणाम उसले भोग्नुपर्ने बताएका छन्।

जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेकाले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका थिए।

इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मंगलबार फोन गरेर घटनाप्रति ट्रम्पले आपत्ति जनाएका थिए। अमेरिकी सुरक्षाकर्मीले आइतबार इराक र सिरियाका पाँच ठाउँमा आक्रमण गरेका थिए। इराकी अर्धसैन्य बल हजबुल्लाहको नियन्त्रणमा रहेका ठाउँमा अमेरिकी सुरक्षाकर्मीले आक्रमण गरेका हुन्।

अमेरिकी सहयोगमा गत साता अन्त्यमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकु) मारिएपछि बग्दादमा इराननिकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन्।

केही दिनपहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुंगामुढासमेत गरेका थिए। यसैगरी इराकी राष्ट्रिय टेलिभिजनले इराकी मिलिसिया कमान्डर अबु महदी अल मुहन्दीस पनि मारिएको बताएको छ।

इराकमा रहेका अमेरिकीलाई तत्कालै देश छाड्न चेतावनी

बगदाद : इराकस्थित अमेरिकी राजदूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई ‘तत्कालै छाड्न’ चेतावनी दिएको छ । अमेरिकी हवाइ आक्रमणबाट इरानी सेनाका कमाण्डर मारिएपछि अमेरिकी दूतावासले यस्तो सूचना जारी गरेको हो ।

‘अमेरिकी नागरिकहरु विमानस्थलबाट सम्भव भएसम्म बाहिरिनुपर्छ । साथै जमिनबाट समेत अन्य देशमा जानुपर्छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । बगदाद विमानस्थलमा अमेरिकी रकेट हमलाको क्रममा शुक्रबार इरानी सेनाको विशेष फौजका कमाण्डरको मृत्यु भएको छ । यससँगै इरानी अधिकारीहरुले अमेरिकालाई यसको मुल्य चकाउनुपर्ने भन्दै अमेरिकालाई चेतावनी दिएका छन् ।

इरानी कमाण्डर मारिएपछि अमेरिकी मन्त्रीले पोस्ट गरे नाचेको भिडियो

वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले इराकी प्रदर्शनकारी नाचिरहेको एक भिडियो हालै सार्वजनिक गरे । बिहीबार बगदादमा आन्दोलनकारीले प्रदर्शन गरेको उक्त भिडियो सार्वजनिक गर्दै पोम्प्योले भने, ‘अमेरिकाले इरानी उच्च कमाण्डरको हत्या गरेपछि सडकमा नाच्दै इराकी प्रदर्शनकारी ।’

शुक्रबार मात्रै अमेरिकी हवाइ आक्रमणबाट इरानी उच्च सैनिक कमाण्डर कुसेम सोलेमानी मारिएका छन् । ‘स्वतन्त्रताका लागि इराकीहरु सडकमा नाच्दै, धन्य जेनरल सोलेमानी अब रहेनन् !’ पोम्प्योले लेखेका छन् ।

सयौं इराकी प्रदर्शनकारीले सडकमा नावाराजी गरेको र इराकी झण्डा फहराउँदै गरेको भिडियो क्लिप पनि पोम्प्योले पोस्ट गरेका छन् । जुन भिडियो बिहीबार अमेरिका विरुद्ध निकालेको प्रदर्शनको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान ‘रिभोल्युसनरी गार्ड्स कमान्डर’को हत्या गर्न आदेश दिएका थिए । जसको शुक्रबार मृत्यु भएको छ । पोम्प्योले पोस्ट गरेको भिडियोको स्रोत भने उल्लेख गरेका छैनन् । साथै उक्त तस्बिर कहाँ कसले खिचेको पनि उल्लेख गरेका छैनन् । इरानी सैन्य कमानडरको मृत्युपछि इराकस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई इराक तत्कालै छाड्न चेतावनी दिएको छ ।

अष्ट्रेलियन प्रधानमन्त्रीको भारत भ्रमण रद्द

सिड्नी : अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले भारत भ्रमण रद्द भएको घोषणा गरेका छन् । अष्ट्रेलियामा विनाशकारी आगलागीको घटनापछि पूर्वनिर्धारित भारत भ्रमणको तालिका यही शुक्रबार रद्द गरेका हुन् ।

मोरिसन यही जनवरी १३ देखि १६ सम्मका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा भारत भ्रमणको तयारी गरिरहेका थिए । यस्तै जनवरी १६ देखि १७ सम्मका लागि जापान भ्रमणको समेत तयारी गरेका थिए । जापान भ्रमणको बारेमा भने उनले केही उल्लेख गरेका छैनन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स क्षेत्रमा आगलागीबाट ठूलो क्षति भएको छ ।

‘अमेरिकी अपराध’को विरोधमा दशौं हजार इरानीले निकाले प्रदर्शन

तेहरान : अमेरिकी हवाइ आक्रमणमा इरानी सैन्य कमाण्डर मारिएपछि इरानमा अमेरिका विरोधी विशाल प्रदर्शन भएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकालाई चेतावनी दिँदै अभिव्यक्ति दिएका छन् ।

अमेरिकी सेनाले भने उक्त हमला ‘अमेरिकी राष्ट्रपतिको निर्देशन’मा भएको प्रतिक्रिया दिएको छ । शुक्रबार बिहानै इरानी सैनिक विशेष फौजका कमाण्डर कुसेम सोलेमानी अमेरिकी हवाइ हमलामा मारिएका थिए ।

उक्त घटनापछि दशौं हजार नागरिकले सडकमा उत्रिएर ‘अमेरिकी अपराध’को विरोध गरेका छन् । सोलेमानीको हत्यालाई ‘एक अपराध’ भन्दै प्रदर्शनकारीले अमेरिका विरुद्ध नारावाजी गरिरहेका छन् ।

भारतीय नागरिकता कानुनमा तेस्रोलिंगी समुदायको पनि विरोध

नयाँदिल्ली : भारतका तेस्रोलिंगी समुदायले पनि यहाँको नागरिकता संशोधन कानुनको विरोध गरेका छन् । राजधानी नयाँदिल्लीमा हजारौं तेस्रोलिंगी नागरिकले कानुनको विरोधमा प्रदर्शन निकाले ।

‘एलजिबिटिक्यू’ समुदायका प्रदर्शनकारीले शुक्रबार उक्त कानुनको विरोधमा र्‍याली निकालेका छन् । उनीहरुको साथमा अन्य अधिकारकर्मीहरु पनि प्रदर्शनमा उत्रिएका थिए । नयाँ कानुनले धर्म निरपेक्ष मुलुकको संविधान उल्लंघन गर्ने र मुस्लिम विरोधी भएकाले विरोध निकालेको उनीहरुले बताएका छन् ।

भारतीय संसद भवन नजिकैको चर्चित प्रदर्शन स्थलको रुपमा चिनिएको जन्तरमन्तरबाट ‘रेन्बो फ्ल्‍याग’ फहराउँदै उनीहरुले सरकारको विरोध गरेका थिए । ‘स्वतन्त्रता जिन्दावाद’, ‘संविधान रक्षा गर’, ‘फासिवादबाट स्वतन्त्रता चाहन्छौँ’ जस्ता सरकार विरोधी नारा उनीहरुले लगाएका थिए । नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको नयाँ कानुनले भारतीय मुस्लिम समुदायको उपहास गरेको भन्दै सरकारको आलोचना हुँदैआएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →