पर्वत पुस १९ गते । नेपालमा महिलाहरुले दक्ष–स्वास्थ्यकर्मीहरुबाट, गर्भवति सेवा लिने क्रम बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार धेरै महिलाहरुले ४ वा सो भन्दा बढि पटक गर्भवति सेवा लिने गरेका छन् ।
सन् १९९६ मा स्वास्थ्य संस्थामा बच्चा जन्माउनेहरुको प्रतिशत ८ मात्रै थियो । सन् २०१६ को तथ्याङ्कमा ५७ प्रतिशत पुगेको छ । त्यसयताका वर्षहरुमा तत्लो तहमा स्थानीय र प्रदेश सरकारको उपस्थितिले सचेतनाको कार्यक्रम पनि बढेको छ । अनि कतिपय स्थानीय सरकारले गर्भवति र सुत्केरीलाई प्रोत्साहनका कार्यक्रम पनि ल्याएका छन् ।
पर्वत अस्पताल सहित अन्य २६ वटा बर्थिङ सेन्टरको तथ्याङ्कमा गतवर्ष ९ सय १ जना महिला सुत्केरी भएको देखिन्छ । चालु वर्षको तीन महिनामा ४ सय ५५ जना सुत्केरी भएको जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो ।
गर्भवति भएदेखि चार पटक गर्भजाँच, आईरन र क्यालसियम चक्की निशुल्क वितरण, निशुल्क परामर्श सेवा, पोषणको बारेमा जानकारी दिने लगायतका सेवा स्वास्थ्य संस्थाहरुमा उपलब्ध छ । त्यसका अलवा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेलाई २८ सय भत्ता सहित न्यानो कपडा समेत वितरण गरिन्छ । चेतनाको विकाससँगै घरमा सुत्केरी हुने दर शुन्यको स्थितीमा पुगेको भंगारा स्वास्थ्यचौकीका अनमी निसा सुबेदीले बताउनुभयो ।
संस्थागत सुत्केरीयुक्त वडा घोषणा, पोषण सुधार कार्यक्रम, भत्ता वितरण लगायतका कार्यक्रम चलाईरहेका छन् । संस्थागत सुत्केरी सेवालाई प्रभावकारी बनाउन विहादी गाउँपालिकाले गतवर्ष वडा नम्बर २ बर्राचौरलाई घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गरेको थियो ।
अरु वडामा पनि अभियान जारी रहेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । संस्थागत सुत्केरी सेवा प्रभावकारी हुँदै गएपछि पर्वतमा बाल र मातृ मृत्युदर घटेको तथ्याङ्कहरुले देखाउँछन् ।