बागलुङमा हात्तिपाइले निवारणमा सकस, ११औं पटक हात्तिपाइले विरुद्धको औषधि खुवाइने

बागलुङ- बागलुङमा हात्तिपाईले रोग निवारणका लागि निकै सकस परेको छ । जिल्लामा बारम्बार सर्वेक्षण गर्दा हात्तिपाईले रोगको संक्रमण भेटिएपछि यसको निवारणका लागि निकै सकस भएको हो ।
सामान्यता हात्तिपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्ने भएपनि बागलुङमा भने यस वर्ष ११ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै छ । यसको बाध्यता हो निवारण हुन नसक्नु । जिल्लाका विभिन्न स्थानमा गरिएको सर्वेक्षण अनुसार हात्तिपाईलेको परजिवी १ प्रतिशत भन्दा बढिमा देखिए पछि यस विरुद्धको औषधी पुन खुवाउनु परेको हो ।
यसको निवारणका लागि बारम्बार औषधी खाएपनि यसको परजिवी भेटिएपछि जिल्लाबासी आजित भएका छन । जिल्लामा १० वर्ष निरन्तर हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईयो, तर यसको निवारण हुन सकेन स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘सरकारले तय गरेको अभियानमा चार बर्ष बढी अभियान सञ्चालन गर्दा पनि हात्तिपाइले निवारण नभए पछि जिल्लामा फेरी ११ औं पटक अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।
निवारण नभएपछि ११ औं पटक औषधी खुवाईदै
देशभरबाट हात्तिपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत बर्ष अभियान सञ्चालन गरिए पनि ६ महिना पछि सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएको थियो । जसका कारण जिल्लामा ११ औं पटक आगामी माघ २५ गतेदेखि हात्तिपाइले रोग बिरुद्धको अभियान सञ्चालन गरिने गुरौले जानकारी दिए ।
सदरमुकाम नजिकै बागलुङ नगरपालिका–१४ को नारायणस्थान र पश्चिम बडिगाड गाउँपालिकामा यसको सर्वेक्षण गरिएको थियो जस मध्ये नारायणस्थानमा १ प्रतिशत भन्दा बढिलाई हात्तिपाईलेको परजिवी भएको भेटिएपछि जिल्ला भर नै पुन अभियान संचालन गर्न थालिएको हो ।
एक प्रतिशत भन्दा बढि परजिवी भेटिएमा पुन खुवाउनुपर्ने
जिल्लामा २००१ देखी यसको सर्वेक्षण गरिएको थियो सोही सय ४ दशमलब ८ प्रतिशतमा यसको संक्रमण देखिएको थियो । पछि यसको निवारणका निम्ती निरन्तर औषधी खुवाउने अभियान जिल्ला भरी नै संचालन गरियो । २०१४ मा यसको पुन सर्वेक्षण गरियो तर निवारण हुन सकेन त्यो समय ३ प्रतिशतमा यसको जिवाणु भेटियो । स्वास्थ्य कार्यालय बागलुङका भेक्टर कन्टोल निरिक्षक याम बरालले भने, ‘कार्यालय र केन्द्रबाटै २०१६ मा सर्वेक्षण गर्दा २ दशमलब ३ र २०१८ सर्वेक्षण गर्दा ४ दशमलब ६ भेटिएपछि पुन दुई वर्षका लागि थप गरिएको हो । गत बर्ष हात्तिपाइलेको औषधि खुवाइए पछि ६ महिनामा नमुना सर्वेक्षणका क्रममा नारायणस्थानमा पुन हात्तिपाइलेको परजिवी भेटिएको थियो । त्यस पश्चात पुन थप गरी ११ औं पटक औषधी खुवाईने बरालले बताए । यदी यस वर्ष पनि १ प्रतिशत भन्दा बढि नै देखिएमा यो रोग विरुद्धको औषधी पुन खुवाउनुपर्ने स्वास्थ्यकर्मि बताउँछन ।
बागलुङमा २ लाख ६३ हजारलाई पुन औषधी खुवाईदै
यसको निवारणका लागि अभियान संचालन गरेको वर्षमा नियमित औषधी खानुपर्ने कार्यालयले जनाएको छ । जिल्लामा यस वर्ष पनि २ लाख ६३ हजार १ सय २० जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान रहेको कार्यालयले जनाएको छ । यस वर्षको अभियानका लागि जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकलाई राखेर अभिमुखिकरण समेत गरिसकिएको छ ।

बिश्व स्वास्थ्य संगठनका अनुसार एक प्रतिशत कम भएमा मात्र त्यसलाई जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा फेरी अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।
देशभर १३ जिल्लामा अभियान संचालन हुँदै
अहिले ७७ जिल्ला मध्ये १३ जिल्लामा औषधि खुवाएको ६ महिना पछि परिक्षण गर्दा जिवाणु भेटिएको थियो । जसमा पुनः एकसाथ अभियान सञ्चालन गरिने कार्यालय प्रमुख गुरौले बताए । १३ जिल्ला मध्ये गण्डकी प्रदेशमा बागलुङ सहित पर्वत र लमजुङमा ११ औं पटक अभियान सञ्चालन गर्नुपर्ने भएको छ ।
विश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तिपाइले आफुले मात्र औषधि खाएर जोखिमबाट पुर्ण रुपमा बच्न सकिदैन । अरु कसैलाई हात्तिपाइले छ र उसलाई तोकेको लामखुट्टेले टोकेमा पनि हात्तिपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यस वर्ष पनि जिल्लामा सवैलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाइनेछ । जिल्लामा यो अभियानका लागि करिब ४ सय स्वास्थ्यकर्मि र स्वयं सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अभियानमा दुई वर्ष मूनिका बालवालिका, गर्भवती महिला तथा ७ दिन भित्रकी सुत्केरी महिला, दीर्घरोगी र सिकिस्त बिरामी बाहेक सबैले उमेर समूह अनुसार डि. ई. सी. चक्कि र जुकाको औषधि खानुपर्ने छ ।