ताप्लेजुङ फागुन ६ गते । सिदिङ्वा गाउँपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता प्रकाश राईमाथि कर्मचारी दुर्व्यवहार गरेको आरोप लागेको छ।
सोमबार वडा नं ३ आङ्खोपमा सञ्चालिन दादुरा रुबेला खोप अभियानको अनुगमन गरेर फर्कने क्रममा आफूमाथि दुर्व्यवहार भएको स्वास्थ्य शाखा संयोजक सत्येन्द्रप्रसाद यादवले आरोप लगाएका छन्।
‘अनुगमनबाट एउटै गाडीमा फर्कँदै थियौं, अध्यक्ष ज्यू पनि हुनुहुन्थ्यो, सोहि क्रममा उहाँले करार कर्मचारी नियुक्तिको विषय निकाल्नुभयो,’ यादवले टेलिफोनमा भने, ‘पैसा खाएर मैले भनेको मान्छेलाई फेल बनाइस् भन्दै गाली गलौच गर्नुभयो।’ त्यसपछि मुक्काले कुममा हानेको यादवको भनाई छ। ‘अक्ष्यक्ष ज्यू नभएको भए मेरो ज्यान नै खतरामा पर्ने थियो’ यादवले भने।
घटनापछि सिदिङ्वा गाउँपालिकाका कर्मचारीले आफूहरु असुरक्षित भएको भन्दै विज्ञप्ति मार्फत् जनाएका छन्। सुरक्षाको ग्यारेण्टी नहुन्जेल काममा फर्कन नसक्ने भन्दै अनिश्चित समयसम्म गाउँपालिकाको दैनिक कामकाज ठप्प पारेको विज्ञप्तिमा उल्लेख छ।
‘कार्यालय समयमै काममा खटिएको कर्मचारीमाथि हातपात भएपछि हामी एकदमै असुरक्षित भयौं, काम गर्न सक्ने वातावरण छैन,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन लिङ्देनले भने ‘यहि अवस्थामा काम गर्न नसक्ने जानकारी अध्यक्षलाई गराएका छौं।’
यता प्रवक्ता राईले भने यादवसँग सामान्य भनाभन मात्र भएको बताएका छन्। ‘हातपात गरेको भन्ने आरोप झुठो हो, उसले पहिले मुख छाडेपछि सामान्य विवाद भएको हो, त्यसैलाई बढाइचढाई गरियो,’ राईले भने। गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले विवाद समाधानका लागि आकस्मिक बैठक डाकेको बताए। ‘आजै बैठक बसेर विवाद समाधान गर्छौं,’ कडरियाले भने।