बागलुङ- राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाभर एक महिने संगठन विस्तार अभियान सञ्चालन गरेको छ । जनताका बीचमा आफ्नो राजनैतिक प्रचार तथा जनचेतना मुलक कार्यक्रम सहित जनसंगठन निर्माण अभियान सञ्चालन गरेको जनाएको छ । जिल्लाका १० वटै स्थानिय तहमा १० वटा भिन्ना भिन्नै टोली अभियानमा लागेको राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले बताए ।
‘हरेक स्थानिय तहका वडा वडामा पुगेर वडा स्तरमा प्रशिक्षण गर्ने, वडा कमिटि गठन गर्ने तथा सदस्यता वितरण सहितको अभियानमा टोलि परिचालित भएको बताउँदै, सचिव पोखरेलले, जिल्लाभर सक्रिय रुपमा अभियान सञ्चालन भइसेकेको बताए ।
देशमा बढ्दो भ्रष्टाचार, अनियमितता र बेथिति विरुद्धको अभियान समेत यो समयमा सञ्चालन गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए । ‘जनताको सबै भन्दा नजिकको स्थानीय सरकारले गरेका गतिविधिलाई नजिकबाट अनुगमन गर्ने, प्रत्यक्ष जनताका कुराहरु बुझ्ने र राम्रो भएको भए अझै राम्रो गर्न सुझाव दिने, अनियमितता गरिएको भए भण्डाफोर गर्ने कार्यक्रम समेत भएको उनले बताए । हामी स्थानीय सरकार संयन्त्र सुशासनयुक्त होस्, पारदर्शी ढंगले जनताको सेवा गरोस् भन्ने चाहन्छौं । यदी गलत ढैगले चलेको, भ्रष्टाचार भएको देखिए, त्यस्ता ठाउँमा कडा रुपमा भण्डाफोर गछौं ।’, अध्यक्ष थापाले भने ।
‘भारतले मिचेको नेपाली भूमि फिर्ताको विषय तथा हालै सरकारले नेपालमा लाद्न खमजेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसी) का विषयमा जनतालाई सचेत गराउने, जिल्लाभर ५० हजार सदस्यता वितरण गर्ने र ८५ वटै वडामा संगठन निर्माण गर्ने गरी तय भएको अध्यक्ष थापाले बताए ।
फागुन ८ गतेबाट सुरु भएको अभियान फागुन २९ गतेसम्म सञ्चालन हुने छ । सो अवसरमा पार्टि कार्यकर्ता, समर्थक तथा जनसमक्ष प्रशिक्षण सहितका सभा, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु तय गरिएको जनाइएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङले फागुन ३ र ४ गते बरेङमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण तथा भेलाबाट उक्त अभियान सञ्चालन गरेको जनाएको छ ।