नेकपाबाट यो संविधानलाई सबैभन्दा ठूलो डर : गगन थापा

दांग , फागुन १३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच

कसले कसलाई छिड्की हानेर ढलाउने भन्ने होडबाजीमा रहेको बताएका छन्।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङले घोराहीमा सोमबार गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले केपी र प्रचण्डबीचमा त्यो झेल र खेल भइरहेको दाबी गरे।

दुईजना डराएका र लोभी व्यक्तिबीच रातारात एकता भएकाले अहिलेको अवस्था आएको तर्क गरे।

एउटा घिउ बेचुवा र अर्को तरबार बेचुवाबीचको जस्तो सम्बन्धबाट पार्टी एकता गरिएको भए पनि त्यो पार्टी भन्न लायक नभएको थापाको भनाइ छ।

उनले प्रधानमन्त्री ओली आजको दिनमा शासन गर्न उपयुक्त नरहेको जिकिर गरे।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्रीले दुई महिना अगाडि त्यो सुनेको भए पनि त्यो ढाकछोप गरेकाले र त्यो थाहा नपाएको हो भने पनि आफ्नो भान्साभित्र भएको त्यत्रो कुरा थाहा नपाउनेले अन्य केही कुरा थाहा पाउने हैसियत नराख्ने हुँदा प्रधानमन्त्री राजनीतिक र नैतिक रूपमा पतन भइसकेको थापाले बताए।

गिरिजाप्रसाद कोइरालाले थालनी गरेको शान्ति र संविधानको यात्रालाई सबैभन्दा ठूलो डर नेकपाकै सरकारबाट रहेको जिकिर उनको जिकिर छ।

केहीदिन पहिलेमात्रै प्रधानमन्त्रीले केही डरबारे चर्चा गरेको प्रसंग जोड्दै नेता थापाले भने, ‘यो संविधानलाई जसले अविष्कार गर्‍यो डर उनीहरूबाट रत्तिभर छैन। पूर्वराजा हामी विभिन्न ठाउँमा घुमेको देख्छौं उहाँबाट पनि यो संविधानलाई कुनै डर छैन। हाम्रो लागि सबैभन्दा दुर्भाग्य यो संविधानको कसम खाएको, यो संविधानका आधारमा भएको निर्वाचनवाट सबैभन्दा ठूलो दल बनेको नेकपाबाट आज यो संविधानलाई सबैभन्दा ठूलो डर छ।’

संविधान निर्माण गर्ने सकसपूर्ण लामो अवधिमा नेपाली कांग्रेसको एउटा साथीको रूपमा नेकपा एमाले रहेको र त्यसले माओवादीले आफ्ना एजेन्डा लाद्न खोज्दा शक्ति सन्तुलन कायम गर्न सजिलो हुने गरेको भए पनि आज फरक अवस्था आएको थापाले बताए।

एमालेको अनुदार चरित्र माओवादीले ग्रहण गरेको र माओवादीको त्यस्तै नराम्रो चरित्र एमालेले ग्रहण गरेको थापाले बताए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →