बागलुङ- सेतै कपाल उमेरले ७४ बर्ष पुगेकी पोटकुमारी जिसी आफ्नो विगतका संर्घषहरु अहिले ईतिहास बनेको सुनाउँछिन । बागलुङ नगरपालिका–९ तित्याङ स्थायी घर भै हाल बागलुङ नगरपालिका–३ बस्ने पोटकुमारी जिसी आफ्नो जिवनको सघर्षलाई सम्झदा विरह लाग्ने बताउँछिन । २००२ साल फागुन २ गते बाबा भिमबहादुर खड्का र आमा बसुन्धरा खड्काकी काईली छोरीको रुपमा जन्मिएकी पोटकुमारी जिवनमा धेरै दुःखहरु भोगिन । ठुलो परिवार उ बेला छोरी भनेपछि पढन लेख्न विद्यालय पठाउने चलन थिएन । गाउँमा नै भेडा चराउँदा उनको बाल्यकाल वित्यो । भेडा हेर्दा हेर्दै २०१७ सालमा नजिकैका कविराज क्षेत्री सँग १५ वर्षको उमेरमा विवाह भयो । कविराज त्यो बेला १८ वर्षको थिए । बृटिस लाहुरेमा भर्ति भएका कविराज विहे पछि पुन पल्टनमा गए । पोटकुमारी घरमा सासु ससुरा सँग काममा तल्लिलन रहीन ।
बाघको भन्दा सासु ससुराको डर लाग्थ्यो
सानोमा माईतमा गाह्रो काम गरिन जिसी भन्छिन् घरमा आएर ठुला ठुला बाउसोले खेतबारी खन्दा निकै गाह्रो भयो । उ बेला उमेर सानै भए पनि ठुला ठुला काम गर्नुपर्ने थियो जिसीले भन्छिन ।’ अहिले जस्तो दिउँसोमा खाजा खाने चलन पनि थिएन । विहान खाएको आटो ढिडोले बेलुका सम्म पु¥याउनुपर्ने थियो । धेरै दुःख गरेर काम गरियो ।’ उनले उ बेला बाघ (चितुवा) को भन्दा सासु ससुराको धेरै डर लाग्ने बताईन । एक छोरा र तिन छोरीका आमा बनेकी जिसी आफुले त्यो बेला गरेको संघर्ष सम्झदा विरह लागरे आउने बताउछिन ।
स्कुलमा पढाएको बाह्रखरी आगनमा गुन्द्री बुन्दा सुनेर सिके
जिसी पढन नपाएकोमा अहिले पनि पछुतो लागेको बताउछिन । उ बेलामा छोरी भनेर हेलामा परियो पढन पाईएन । जिसीले भनिन् ‘घर नजिकै स्कुल थियो । स्कुलमा मास्टरले कखरा र बाह्रखरी पढाउने हामी आगनमा गुन्द्री बुन्ने त्यही बेलामा सुनेको आधारमा मईले कखरा र बाह्रखरी पढन सिकेकी हु । उनले लेख्नका लागि खरिढुंगाले कालोपटीमा स्कुलबाट घर जाने केटाकेटीलाई बोलाएर सिकेको बताउँछिन । यसरी सिकेकी पोटकुमारी पछि श्रीमानलाई चिठि लेख्ने भईन र सवै पढने सक्ने । उ बेलमा पौढ शिक्षा भन्ने पनि थिएन जिसीले थपिन, ‘स्कुल आउने जाने केटाहरु सँग पढन लेख्न सिके । त्यही सिकेका आधारमा अहिले सम्म पनि सवै अक्षर पढन सक्ने छु ।
महिलाको नेतृत्व गर्ने एक्ली पोटकुमारी
जिसी पहिले देखी नै गाउँका हरेक सामाजिक काममा क्रियाशिल हुने गर्दथिन । उनले आफुले समाजको विकासका लागि बाटो घाटो खन्ने, मठ मन्दिर बनाउने र विद्यालयको विकासका लागि सधै सहयोग गरेको बताईन । उनी महिलाको तर्फबाट नेतृत्व गर्ने गाउँमा एक्लै थिईन तर परिवारको भने साथ थियो उनलाई । गाउँका हरेक क्रियाकलापमा अघि सर्ने क्रममा उनले अनेक आरोह अवरोह पनि बेहोर्नुप¥यो । उनलाई बुहारी भएर पनि छोरा मान्छे सँग गाउँ गाउँ हिडने भनेर हिस्सी पनि गर्दथे ।
चुनाव जितेर नमस्कार गर्दा हिस्सी गर्थे
गाउँका सामाजिक क्रियाकलापमा सक्रिय हुँदा हुँदै पञ्चायतकालमा उनी तत्कालिन वडामा वडा अध्यक्षको जिम्मेवारी पाईन । पञ्चायतकालमा मैले निर्विरोध वडा अध्यक्षको जिम्मेवारी समालेर पाँच वर्ष चलाए । जिसीले भनिन् ‘त्यसपछि म मा झनै उत्साह थपियो । गाउँमा लोग्ने स्वास्नीको झगडा भएपनि मिलाउनका लागि म नै पुग्नुपर्दथ्यो । एक पटक वडा अध्यक्ष भएपछि झनै राजनिति र सामाजिक काममा उत्साह जाग्यो । उनी २०४६ सालमा बहुदल आए पछि अझै खुलेर राजनिति र समाजसेवामा लागिन २०४९ सालमा तत्कालिन गाविसको चुनावमा उनी तित्याङ गाविसको उपाध्यक्षमा निर्वाचित भईन । जिल्ला भरी नै म एक मात्र महिला उपाध्यक्ष थिए । जिसीले भनिन, ‘उ बेला चुनाव जितेर गाउँमा नमस्कार गर्दा महिलाहरुले नै आईमाई पनि चुनाव जित्ने भनेर हिस्सी गर्थे । छोरा मुन्छेको माझमा आईमाई जाने भनेर जिस्काउँथे । तर पनि मेरो मन कहिलै हारेन । तत्कालिन जिल्ला विकास समितिमा गोपाल सापकोटा जिविस सभापति हुँदा ६२ गाविसको एक मात्र महिला उपाध्यक्षको रुपमा जिल्ला परिषदमा आफुलाई पाएकी थिए । जिल्लामा एक मात्र महिला भएका कारण पछि हरेक स्थानमा मलाई बोल्नका लागि ठाउँ दिईयो त्यही बेला अलि अलि भाषण गर्न नि सिककी हुँ ।’
सदरमुकाम झरेर पनि सामाजिक काममा सक्रिय
गाउँमा राजनितिमा सामाजिक काममा सक्रिय भएकी जिसी २०५० सालमा सदरमुकाम बागलुङ बजार झरिन सदरमुकाममा आएर पनि आफ्नो सामाजिक कामलाई कहिलै छोडिनन् । हालको बागलुङमा रहेको चिप्लेटी बसपार्क निर्माणका लागि उनको ठुलो भुमिका रहेको थियो । बसपार्क निर्माणका लागि वरी परिका बासिन्दा कसैले मानेका थिएनन् । राजु खड्का (हाल कालिका भगवती गुठीको अध्यक्ष) र मैले जबरजस्ती बाँसका जरा हटाएर बसपार्क निर्माणका लागि भुमिका खेलका हौं उनले भनिन् । ‘उ बेला हामी सक्रिय नभएको भए यहाँ बसपार्क निर्माणका लागि ठाउँ राख्न निकै कठिनाई थियो । जिसीले सदरमुकाम आएपछि पनि आफु गाउँका हरेक जनताको काममा सधै खटेको बताईन । प्रशासन, मालपोत लगायतका अड्डामा गाउँका मानिस धेरै काम लिएर आउँथे सवै उनिहरु सँग काम गरिदिनु पथ्यो उनले भनिन् ।
उनी सामाजिक कामको साथै जिल्लाको राजनितिमा पनि सक्रिय थिईन । नेपाल महिला संघको जिल्ला सदस्य भएकी जिसी हाल महिला संघको सल्लाहकारमा रहेकी छन ।
अन्य महिलालाई पनि सक्रिय बनाउन जुटिरहीन
जिसी सदरमुकाममा महिलालाई सक्रिय बनाउनका निम्ती महिला हित तथा बचत सहकारी संस्था स्थापनका लागि नेतृत्व लिईन । अहिले जिल्लाकै पहिला महिला सहकारीको रुपमा स्थापित रहेको छ । जिसी जिल्लाका अन्य दजैनौ संघ संस्थामा आबद्ध रहेकी छन । श्रीमान् बृटिस लाहुरे भएको हुँदा विगत पाँच वर्ष लण्डमा बसेर आएकी पोटकुमारी अहिले पनि सामाजिक काममा निकै सक्रिय छिन ।
जिसीले अहिलेका जनप्रतिनिधिहरु जनताको काममा भन्दा पनि आफु कमाउने धन्दामा लागेकोमा चिन्ता पर्कट गर्दछिन । जनताबाट चुनिएर आए पछि सवै साझा बन्न सिक्नुपर्दछ जिसीले भनिन् अहिलेका नेताहरु आफ्नो मात्र मेसो सोझाउन खोज्ने गरेका छन । यदी जनताको काम नगरेमा यिनिहरुलाई जनताको सराप लाग्ने छ । संघर्ष गरेर सामाजिक क्षेत्रमा क्रियाशिल जिसी उमेरले बुढो भए पनि समाजिक भावना बुढो नभएको बताउँछिन । उनले अहिलेको प्रविधि सँगै सवै कुरा फरक भएकोमा पहिलेका सवै दुःख विसर्ने बताउँछिन । अन्तराष्टिय श्रमिक महिला दिवसकाे अवसरमा तयार पारीएकाे रिर्पाेट