बागलुङ-
साविक धौलागिरि अञ्चलका पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था र दक्षिण कोरियाबाट फर्केका बागलुङेहरुले स्थापना गरेको ओम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया पुरा भएको छ ।
एकीकरण अन्तरगत आन्तरिक कार्य सम्पन्न गरी एकीकृत संस्थाका रुपमा आदर्श सञ्चार सहकारी संस्थाबाट कारोबार गर्ने निर्णय दुवै संस्थाले गरेका छन् । फागुन २४ गते एकीकरण घोषणा गर्ने तयारी गरिएको थियो, ओम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रबहादुर महतले भन्नुभयो–विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र सरकारले भिडभाडका कार्यक्रम नगर्न गरेका आग्रहका कारण घोषणा कार्यक्रम स्थगित भएको हो ।
घोषणा कार्यक्रम स्थगित भए पनि एकीकृत संस्थाको रुपमा चैत १ गतेदेखि आदर्श सञ्चार सहकारीबाट कारोबार गर्ने निर्णय भइसकेको र आइतवारदेखि एकीकृत रुपमा कारोबार हुने अध्यक्ष महतले जानकारी दिए ।
दुवै संस्थाका वार्षिक साधारणसभाको निर्णय अनुसार संस्था एकीकरणको सम्पूर्ण काम सकिएको र औपचारिक घोषणा गर्ने कार्यक्रम स्थगित भए पनि एकीकृत रुपमा कारोबार गर्ने काम आइतवारबाट हुने आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले बताए ।
एकीकरण पछि एकीकृत रुपमा गर्ने काम तथा योजनाका बारेमा दुवै संस्थाका सञ्चालक र कर्मचारीहरुलाई जानकारी दिनका लागि शनिवार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एकीकरणपछि एकीकृत रुपमा कर्मचारीहरुले गर्ने काम, संस्थाको योजना तथा सदस्यहरुको सम्बन्धका विषयमा छलफल गरी संस्थाको लक्ष्यप्रति कर्तव्य निष्ठ गराउने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
प्रविधियुक्त दक्ष जनशक्ति, संस्थागत विकासको आधार भन्ने नाराका साथ दुवै संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई संस्थाको दीर्घकालिन रणनीतिक योजना अनुसार अगाडि बढ्न कार्यक्रम थप सहयोगी हुने सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा संस्था एकीकरणपछि दुवै संस्थाको एकीकृत परिकल्पना, रणनीतिक योजना, योजना पुरा गर्नका लागि कर्मचारीहरुले गर्नु पर्ने काम लगायत सहकारीलाई सफल पार्न सञ्चालक र कर्मचारीका जिम्मेवारीहरुका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सक्रिय सदस्य, क्षमतावान सञ्चालक र दक्ष कर्मचारीको हुनु पर्नेमा जोड दिए ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, ओम वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महतको स्वागत र आदर्श सञ्चार सहकारीका प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
दुई संस्था एकीकरण भई बनेको एकीकृत संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर पूँजि, २२ करोड बचत र २३ करोड कर्जा लगानी हुने आदर्श सञ्चार सहकारी संस्थाका प्रवन्धक सापकोटाले जानकारी दिए ।