द्वन्द्वपीडितको सम्मानका लागि काँग्रेसको कोष स्थापना

बागलुङ- 
द्वन्द्वपीडितहरुको सम्मानका लागि नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र एकले कोष स्थापना गर्ने भएको छ । द्वन्द्वको समयमा सहादत, घाइते तथा विस्थापित परिवारलाई सम्मानका लागि सम्मान कोष स्थापना गर्न लागिएको हो । क्षेत्रीय समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको क्षेत्रीय सभापति चिरञ्जीवी गौतमले बताए । बैठकले स्थानीय निर्वाचन २०४९ र २०५४ मा पार्टीबाट निर्वाचित गाविस अध्यक्ष, उपाध्यक्ष तथा बागलुङ नगरका वडाध्यक्षहरुलाई समेत सम्मान गर्ने निर्ण गरेको छ । बैठकले संघिय क्षेत्र नम्बर १ भित्र पर्ने स्थानीय तहका ३७ वटैं वडामा संगठन विस्तार तथा सुदृढिकरण अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । समितिले वडामा क्रियाशील सदस्यता वितरण, नविकरण, द्वन्द्वकालमा ज्यान गुमाएका, घाईते तथा विस्थापन भएका परिवारको लगत संकलन, स्थानीय तहमा भएका काम गतिविधि, पार्टी र जनप्रतिनिधिको काम क्रियाकलाप, सम्पर्क समन्वय लगायतका विषयमा छलफल अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने सचिव विकास पौडेलले जानकारी दिए । अहिले विश्वामा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरण गर्न विभीन्न सामग्री निर्माण गरेर संगसंगै सचेतना अभियान पनि सञ्चालन गर्ने वैठकले निर्णय गरेको छ । क्षेत्रीय सभापति चिरञ्जीवी गौतमको अध्यक्षतामा भएका कायक्रमको सञ्चालन सचिव विकास पौडेलले गरेका थिए ।