जिपि फाउण्डेशन बागलुङले सवै स्थानिय तहमा संयोजक तोक्यो

बागलुङ– जिपि कोइराला फाउण्डेशन बागलुङले जिल्लाका दश वटै स्थानिय तहमा संयोजक चयन गरेको छ । फाउण्डेशनको आईतबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रत्येक स्थानिय तहमा एक जना संयोजक तोकेको छ । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पुर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको फाउण्डेशन स्थानिय तहसम्म पु¥याउने लक्ष्य अनुरुप संयोजकको जिम्मेवारी दिईएको हो । फाउण्डेशनले प्रजातन्त्रको रक्षाका र समृद्ध नेपाल निर्माणका लागि अहम भुमिका खेल्ने जिल्ला संयोजक महेन्द्र कंडेलले बताए ।
बैठकले बागलुङ नगरपालिकामा सुदेश राजभण्डारी, जैमिनी नगरपालिकामा प्रेम सापकोटा, गलकोट नगरपालिकामा मुकुन्दसिंह भण्डारी र ढोरपाटन नगरपालिकामा मेषलाल शर्मालाई संयोजकको जिम्मेवारी दिईएको छ । त्यसैगरी काठेखोला गाउँपालिकामा गोविन्द विक, बरेङ गाउँपालिकामा मोतिराम गौतम, ताराखोला गाउँपालिकामा नवराज सुवेदी, बडिगाड गाउँपालिकामा हरिदत्त आचार्य, निसीखोला गाउँपालिकामा शोभा कार्की र तमानखोला गाउँपालिकामा झक बहादुर बुढालाई जिम्मेवारी दिईएको अध्यक्ष कंडेलले जानकारी दिए । संयोजकहरुले आ–आफ्नो नगर र गाउँपालिकामा समितिलाई पुर्णता दिनेछन । बैठकले जैमिनीका रामचन्द्र सापकोटालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।
बैठकले आगामी चैत्र ६ गते स्वं गिरिजा प्रसाद कोईरालाको १० औं स्मृति दिवसको अवसरमा बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको रङगवेकटेश्वर मुक्तिनाथ बेद विद्याश्रम संस्कृत विदालयमा अध्ययनरत बटुकहरुका लागि खाद्य सामाग्री वितरण गर्नुका साथै कोरोना भाईरसको बारेमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको सचिव विकास पौडेलले जानकारी दिए । त्यस्तै हालै जिपि कोइराला फाउण्डेशन गण्डकी प्रदेशको सदस्यमा चयन भएका जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीका समाजसेवी खुमराज पराजुलीलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । पराजुलीलाई फाउण्डेशनका सल्लाहकार एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल र संयोजक महेन्द्र प्रसाद कंडेलले खादा लगाएर सम्मान गरेका थिए । फाउण्डेशनले स्व. कोईरालाको संझनामा हरेक वर्ष विविध कार्यक्रम गर्दै आएको छ । जिल्ला संयोजक कंडेलको अध्यक्षतामा भएको बैठकको सहजीकरण सचिव विकास पौडेलले गरेका थिए ।