दादुरा–रुवेला खोप अभियान : घरघरमा निमन्त्रणा

बागलुङ-
देशभर दुई चरणमा संचालन भएको दादुरा–रुबेला खोप अभियान बागलुङमा पनि दुई चरणमा संचालन हुने भएको छ । जिल्लामा आउँदो बुधाबार अर्थात चैत्र ५ गतेदेखी सुरु हुने अभियान जिल्लाका चार स्थानिय तहमा पहिलो चरण र बाँकी ६ स्थानिय तहमा दोस्रो चरणमा संचालन हुने भएको छ । अगामी चैत्र ५ देखी १३ गते सम्म पहिलो र चैत्र १५ देखी २३ गते सम्म दोस्रो चरणमा अभियान संचालन हुने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । अभियान नौ दिन सम्म संचालन हुने छ ।
पहिलो चरणमा जिल्लाको पश्चिम भेग, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका हरेक खोप केन्द्रमा संचालन हुनेछ । त्यस्तै दोस्रो चरणमा जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा संचालन हुनेछ ।

बागलुङमा २३ हजार बालबालिकालाई खोप लगाईदै अभियान संचालनको तयारी पुरा
अभियान संचालनका निम्ती स्वास्थ्य कार्यालयले सम्पुर्ण तयारी पुरा गरेको छ । कार्यालयले अभियान सवै स्थानिय तह र स्वास्थ्य संस्थालाई जिम्मेवारी हस्तान्तरण गरिसकेको छ । आउँदो बुधबार देखी संचालन हुने पहिलो चरण अभियानका निम्ती स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका तथा स्वयंसेवक मार्फत आफ्ना बालबालिकालाई खोप लगाउनका निम्ती अभिभावकहरुलाई घरघरमा निमन्त्रणा कार्ड वितरण गरिएको छ । ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगहरूबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए । निमन्त्रणा मार्फत अभिभावकलाई नौ महिना देखी ५ वर्ष भित्रका बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउन अनुरोध गरिएको छ । यो अभियान मार्फत सत प्रतिशत बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाउनुका साथै नियमित खोप सेवालाई पनि सुदृढिकरण गरी गुणस्तरीय र प्रभावकारी खोप सेवा प्रदान गर्ने लक्ष्य राखिएको गुरौले बताए ।
कार्यालयले अभियान संचालनका निम्ती खोप सेन्टरहरुमा आवश्यक सामाग्री र जनशक्ति तयार पारेको छ । जिल्लामा कुल २३ हजार ५ सय ७० बालबालिकालाई यस वर्ष दादुरा रुवेला विरुद्धको खोप लगाईने छ भने ६ सय खोप केन्द्रबाट बालबालिकालाई खोप सेवा प्रदान गरिने गुरौले जानकारी दिए ।   हरेक खोप केन्द्रमा दक्ष स्वास्थ्यकर्मि तथा खोप कार्यकर्ताको प्रत्यक्ष सहभागितामा बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय बागलुङका खोप सुभरभाईजर राजु खत्रीले बताए । अभियान संचालन हुने दुई चरणका निम्ती स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका र अन्य स्वयंसेवक गरी कुल १६ सय जनशक्ति परिचालन हुने खत्रीले बताए । जस अन्तरगत झण्डै ३ सय ५० स्वास्थ्यकर्मि, ९ सय ५० महिला स्वास्थ्य स्वयंसेविका र बाँकी अन्य स्वास्थ्यकर्मि तथा स्वयंसेवकहरु परिचालन हुनेछन । परिचालन हुने जनशक्तिका लागि आवश्यक तालिम प्रदान गरिसकिएको छ । ‘हामी सवै तयारी पुरा गरी स्थानिय तह र स्वास्थ्य संस्थालाई जिम्मेवारी हस्तान्तरण गरेका छौं खत्रीले भने, ‘यो अभियान कुनै व्यक्ति संस्था अथवा स्वास्थ्यकर्मि एक्लैले सफल पार्न नसक्ने हुँदा हामी सवैको दायित्व भित्र पर्दछ । यसका निम्ती सवै सरोकारवालाहरुकोे पनि सहयोगको अपेक्षा गर्दछौं । नियमित खोप लगाउने क्रममा दादुरा–रुबेला खोप लगाएपनि पुरक मात्रा भएकोले अभियानको क्रममा अनिवार्य लगाउनुपर्ने खत्रीले बताए ।
बागलुङमा यसको कुनै प्रकोप छैन
नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त गरिने अभियानमा जुटेको छ । पछिल्लो समयमा बागलुङमा भने यसको कुनै प्रकोप नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत् ले घटेको छ । यद्मपी, अझैसम्म यो रोग हाम्रो देश लगायत विश्वमा पूर्णरुपमा निवारण भई सकेको छैन । हाम्रै देशको केहि ठाउँहरुमा हाल पनि दादुरा र रुबेलाको रोगीहरू देखा परिरहेको कारण यो रोगको संक्रमण फैलीन नदिनका लागि अभियानको क्रममा अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्यकर्मि बताउँछन ।


दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।
दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नपर्दछ । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्ने स्वास्थ्य कार्यालयका कोल्डचेन सहायक विरेन्द्र कुमार चौधरीले बताए ।
दादुरा रुबेला बाट बचाउनका निम्ती नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनुपर्ने छ । अभियान सफल पार्नका निम्ती स्वास्थ्य कार्यालयले सवैमा अनुरोध गरेको छ ।