पत्रकारलाई मास्क र स्यानिटाईजर वितरण

बागलुङ-जिल्लामा क्रियाशील पत्रकारहरुलाई मास्क र स्यानिटाईजर वितरण गरिएको छ । रोट्रयाक्ट क्लब अफ बागलुङको सहयोगमा नेपाल पत्रकार महासंघ यहाँ क्रियाशील पत्रकार सञ्चारकर्मीलाई मास्क र स्यानिटाईजर वितरण गरेको हो ।

कोरोना भाईरसको संक्रमण विश्वभर फैलिँदा नेपाल पनि उच्च जोखिममा रहेको र विश्व स्वास्थ्य संगठनको चेतावनीपछि नेपालीहरु आक्रान्त बनेका छन् । यस्तो संवेदनशील अवस्थामा राज्यको चौथौ अंगको रुपमा रहेको पत्रकाहरुले आफ्नो पेशाबाट विचलित नभई सुरक्षित तवर समाचार सूचना प्रवाह गर्न सकुन भनेर मास्क र स्यानिटाईजर वितरण गरिएको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताए । ‘जनतालाई सचेत बनाउँदै आफ्नो काममा नियमित खटिनुपर्ने भएकाले लक डाउन हुँदा पनि पत्रकारहरुलाई घर भित्रै मात्र बस्ने अवस्था हुँदैन,’ उनले भने,‘त्यस्तो अवस्थामा कोरोनाको जोखिमबाट बच्नका लागि सहयोग पुगोस भनेर यो वितरण गरिएको हो ।’

विभीन्न क्षेत्रले सेवा बन्द गरेर बसे पनि पत्रकारले कलम बन्द नमिल्ने र सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने उनको भनाई छ । रोट्रयाक्ट क्लब अफ बागलुङका अध्यक्ष सुमित शाहीले पत्रकारहरु महामारीको रुप लिएको कोरोनाप्रति थप सजग हुँदै आम जनतामा सूचना प्रवाहका लागि सहयोग पुगोस भनेर आफुहरुले सहयोग गरेको बताए । कार्यक्रममा धौलागिरि अञ्चल अस्पताल बागलुङका देवप्रकाश घिमिरेले कोरोना सम्बन्धी अफवाह चिर्नका लागि सञ्चार माध्यम र सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने बताए ।

‘कोरोनाबाट आतंकित हुने होईन सजगता अपनाउने हो,’ उनले भने,‘यसले छुँदा बित्तीकै ज्यान जाने पनि होईन । यसबारे जनचेतना जगाउन तपाईहरुको महत्वपूर्ण भूमिका हुन्छ । सकारात्मक सन्देश जानेगरी सन्देश प्रवाह गर्न अनुरोध गर्छु ।’

उक्त अवसरमा जिल्लामा रहेका १९ वटा सञ्चार माध्यमलाई संस्थागत रुपमा मास्क र स्यानिटाईजर प्रदान गरिएको छ । राष्ट्रिय मिडीयामा कार्यरत पत्रकारहरुलाई पनि वितरण गरिएको छ । कार्यक्रमको सञ्चालन रोट्रयाक्ट क्लब अफ बागलुङका आगामी अध्यक्ष ताराप्रसाद शर्माले गरेका थिए ।