बागलुङ -विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण बागलुङमा मास्क र स्यानिटाईजरको अभाव देखिएको छ । नोबेल कोरोना भाईरस (कोभिड—१९) को संक्रमणबाट जोगिनका लागि प्रयोग गरिने मेडिकल मास्क र अल्कोहलयुक्त स्यानिटाईजरको अभाव देखिएको हो । बागलुङ बजारका औषधी पसलहरु मास्क र स्यानिटाईजर सकिएको जवाफ दिएर सेवाग्राही फर्काउने गरेका छन् । ‘बागलुङ बजारका सबै जसो औषधी पसल चाहार्दा पनि मेडिकल मास्क र स्यानिटाईजर पाउन सकिन,’ सबिन थापाले भने,‘महङ्गोमा बेच्नका लागि हामीलाई नदिएको हो कि ? साँच्चै अभाव नै भएको हो थाहा भएन ।’ बागलुङ बजारको सञ्चो मेडिकल हलमा स्यानिटाईजर आईपुगेको खबर थाहा पाएपछि दिउँसो चार बजे मेडिकल पुगेका पत्रकार डम्बर बुढा पनि स्यानिटाईजर सकिएको जवाफ लिएर रित्तो हात फर्किए । ‘सञ्चो मेडिकल हलमा पाईएको छ भनेपछि गएको थिएँ, स्यानिटाईजर आजै सकियो भन्ने जवाफ पाईयो,’ उनले भने । आफुकहाँ केही स्यानिटाईजर आए पनि आईतबार दिउँसो सकिएको सञ्चो मेडिकल हलका सञ्चालक खगेश्वर शर्माले बताए । ‘मसंग केही स्यानिटाईजर आएको थियो, आईतबार दिउँसोबाट सकियो,’ उनले भने,‘मेडिकल मास्त अहिले पाईएकै छैन ।
पाईएको पनि होलसेलमै महङ्गो मूल्य भन्छन् हामीलाई बील पनि नदिने भएपछि लिएर यहाँ विक्री गर्नका लागि समस्या भएको छ ।’ औषधी व्यवसायी संघ बागलुङका महासचिव समेत रहेका शर्माले बिना बीलको मास्क ल्याएर विक्री गर्दा कालोबजारीको आरोपमा कारबाहीमा पर्ने डरले मास्क ल्याउन नसकिएको उल्लेख गरे । बागलुङ बजारका मास्क र स्यानिटाईजरको अभाव नै देखिएको औषधी व्यवसायी संघ बागलुङका अध्यक्ष ईन्द्र थापाले बताए । ‘बागलुङ बजारमा कुनै पनि औषधी पसलमा मास्क छैन, माथिबाट नै नआएपछि समस्या भएको हो,’ उनले भने,‘स्यानिटाईटर पनि समस्या नै छ ।’ मास्क र स्यानिटाईजर अभाव भए पनि अन्य औषधीहरु भने अभाव नभएको उनी बताउँछन् । ‘ठ्याक्कै विरामीले खोजेकै कम्पनीको औषधी नै नपाईए पनि करिब दुई महिना थेग्ने औषधी बागलुङमा छ । औषधीमा चाँही समस्या हुँदैन,’ उनले भने । बागलुङ बजारमा मात्र होईन बुर्तिबाङ बजारमा पनि स्यानिटाईजर र मास्कको अभाव भएको छ । ‘बुर्तिबाङमा पनि मास्क र स्यानिटाईजर अभाव नै छ,’बानियाँ मेडिकलकी सञ्चालिक लक्ष्मी बानियाँले भनिन्,‘काठमाडौंबाट केही मास्क र स्यानिटाईजर ल्याएर विक्री गरियो । अहिले फेरि अभाव भएको छ ।’ गलकोटमा भने आरोग्य अस्पतालले मास्का विक्री गरिरहेको अस्तालकी सञ्चालक मञ्जु शर्मा चालिसेले बताईन् ।
‘विदेशमा उत्पादन भएका मास्क त आएका छैनन, तीन प्रकारका नेपाली मास्क विक्री गरेका छौं,’ उनले भनिन्,‘पेपर मास्क ३० रुपैयाँ, डबल लियरवाला ६० रुपैयाँ र एन९५ लाई दुई सय रुपैयाँ विक्री गरेका छौं ।’ मेडिकल मास्कको बागलुङका स्वास्थ्य संस्थाहरुमै अभाव देखिएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङमा डाक्टर र स्वास्थ्यकर्मीकै लागि पर्याप्त सुरक्षाका सामग्रीहरु नभएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वी पोख्रेलले बताए । ‘हामीले अस्पतालमा चार वटा आईसोलेसन वार्ड बनाएका छौं, डा. प्रदिप श्रेष्ठको नेतृत्वमा ¥यापिड रेस्पोन्स टिम पनि बनाएका छौं,’ उनले भने,‘अहिलेसम्म त अवस्था सामान्य नै छ । जोखिम बढ्दै जाँदा स्वास्थ्यकर्मी र डाक्टर नै सुरक्षित हुने आवश्यक सामग्रीहरु नभएका कारण म आफै प्रदेश राजधानीमा माग गर्न आएको छु ।’ अहिलेसम्म बागलुङमा कोरोनाको संक्रमण भएको संकास्पद व्यक्ति नभेटिएको उनको भनाई छ । ‘सिजनल फ्लुका विरामी त केही बढेकै छन् कोरोनाकै संक्रमण आशंक गरेर स्याम्पल लिने अवस्था आएको छैन,’ उनले भने,‘त्यस्तो शंका लागे आईसोलेसन राखेर स्याम्पल निकाली राष्ट्रिय प्रयोगशाला टेकु पठाउँछौं ।’ बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पनि बागलुङमा मास्क र स्यानिटाईजर अभाव भएको स्वीकार गरे । नगरपालिकाले कोरोना विरुद्ध सेचतनाका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई तालिम प्रदान गरेको उनको भनाई छ । ‘हामीले स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई तालिम दिएका छौं, नगरपालिकामा मेयर संयोजक र उपमेयर सहसंयोजक रहेको समिति बनेको छ, वडा तहमा वडाध्यक्षहरु संयोजक रहेको प्रचार प्रसार तथा जनचेतना कार्यक्रम सञ्चालनका लागि समिति गठन गरिएको छ,’ उनले भने,‘शंका लागेकाहरु परिक्षणका लागि माथि पठाउने र एम्बलेन्स तयारी अवस्थामा राख्ने विषयहरुमा छलफल भएका छन् ।’ कोरोना रोकथामका लागि सचेतनामूकलक कार्यक्रम गरिने उनले बताए । यो खबर सोमबारको मुत्तिक्षेत्र दैनिकमा प्रकाशित रहेको छ ।