बागलुङ- नेपालमा पनि कोरोनाको प्रभाव देखिएका बागलुङ जिल्लालाई लक डाउन गरिएको छ । विश्वव्यापी रुपमा भयावहको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को जिल्लामा पनि जोखिम बढेपछि सोमबार देखि ‘जिल्ला लक डाउन’ गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको सरोकारवाला सहितको सर्वपक्षिय बैठकले जिल्लामा अत्यावश्यकीय बाहेकका सम्पूर्ण काम र सेवा पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरेको छ । दैनिक उपभोग्य वस्तु खाद्यान्न, दुध, औषधी, पानी, पेट्रोलियम पदार्थ, उद्धार, राहत तथा स्वास्थ्य उपचार कार्यमा संलग्न यातायात बाहेक सवै प्रकारका यातायात पुर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए ।
प्रजिअ शैजुका अनुसार, जिल्लाबाट बस, जीप, पिक अप, ट्याक्सी, मोटरसाइकल, रिक्सा, पसल, उद्योग कलकारखाना पूर्ण रुपमा आवतजावतमा बन्द गरिएको छ । समितिले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह समेत गरेको छ । यदी यसको बर्खिलाप गरि बिना कारण घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानुन बमोजिम कारवाही गर्ने समेत जनाएको छ । त्यसेगरी सोमबार देखी बढिमा पाँच जना भन्दा बढी भेला हुन समेत नपाईने प्रजि सैंजुले जानकारी दिए ।
जिल्लामा कोरोनाका सम्भावित जोखिम र त्यसको पूर्ववत तयारीका क्रममा आइसोलेसन स्थापनाका लागि धौलागिरी अञ्चल अस्पतालका अतिरिक्त ८ बैकल्पिक स्थल प्रस्ताव गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई अन्र्तगत रहेको विज्ञान स्रोत केन्द्र भवन, बागलुङ नगरपालिकाको भवन, जिल्ला हुलाक कार्यालयको पुरानो भवन, पुरानो भेटेरिनटरी अस्पताल, कृषि सामग्री संस्थानको पुरानो गोदाम घर, कभर्ड हल, खुल्ला चौर, आदीवासी जनजातिको निर्माणाधिन भवनलाई प्रयोेग गर्न सकिने जनाएको छ ।