कोरोना संकट सामनामा गायक प्रकाश सपुतको साथ

बागलुङ- 
नेपाली लोकसंगितका लोकप्रिय गायक प्रकाश सपुतले कोरोना बिरुद्धको अभियानमा हातेमालो गरेका छन । उनले कोरोना संकटको सामनाका लागि लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।
कोरोनाको चौतर्फी जोखिम पछि गृह जिल्ला आएका प्रकाशले कोरोनाका कारण दैनिकीमा समेत संकट उत्पन्न हुने अवस्थाका श्रमिक, मजदुरलाई सहयोग गर्ने अभिप्रायले पत्रकार महासंघ बागलुङ शाखालाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाबाट बच्नका लागि बागलुङ धम्जाको आफ्नै घर पुगेका प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लामो भावुक पत्र लेख्दै उक्त रकम सरकारलाई उपलब्ध गराएको फेसबुक मार्फत घोषणा समेत गरेका छन् ।
यो रकमलाई पत्रकार महासंघले आवश्यक परेको अवस्थामा जुनसुकै संकटका व्यक्ति र ठाउँमा खर्च गर्न सक्ने उनले बताए । पत्रकार महासंघ बागलुका बागलुङ अध्यक्ष दिल शिरीषले दैनिक मजदुरी गरेर खानेहरुको जीवनमा कोरोनाका कारण देखिने जटिलतामा सहयोग रकम खर्चिने बताए । यदी अवस्था भयावह नभए सो रकम नेपाल सरकारको कोषमा प्रदान गरिने अध्यक्ष शिरीषको भनाई छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।