बागलुङमा चैत २१ सम्म अत्यावश्यक बाहेक अन्य पसल बन्द

 बागलुङ – दैनिक उपभोग्य र अत्यावश्यक बाहेक अन्य सेवा प्रवाह गर्ने उद्योग व्यवसाय बन्द भएको छन् । विश्वभर महामारीको रुप धारण गरेको कोरोना भाईरसको संक्रमणबाट सुरिक्षत हुन यहाँका उद्योगी व्यवसायीले होटल तथा पसल र उद्योग धन्दाहरु बन्द गरेका छन् । बागलुङ उद्योग वाणिज्य संघ बागलुङले सोमबार वस्तुगत संघहरुसंग गरेको छलफलपछि अत्यावश्यक पर्ने बाहेक सबै पसल, होटल र व्यवसाय बन्द गर्न आग्रह गरेको हो । उद्योग वाणिज्य संघको आग्रहमा वस्तुगत संघहरुले सहमति जनाएपछि २१ गतेसम्मका लागि होटल तथा पसलहरु बन्द भएका हुन् । विश्वभर महामारीको रुप लिएको र अहिले नेपालमा समेत भित्रिएको कोरोनाको संक्रमबाट बच्न र बचाउनका लागि भिडभाड नियन्त्रण गर्न अति आवश्यक बाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेलले बताए । ‘आम उभोक्ताले दैनिक उपभोग गर्ने वस्तुहरुका पसल त खुला हुन्छन्,’ उनले भने,‘त्यस बाहेकका सेवाहरु अहिलेलाई २१ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

त्यसपछि परिस्थीति हेरेर निर्णय हुनेछ ।’ बागलुङका सबै वस्तुगत संघहरुले कोरोना नियन्त्रणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको कँडेलले बताए । ‘सबै व्यवसायी साथीहरुले व्यवसाय बन्द गर्दा रोगको संक्रमण फैलिन रोक्न सकिन्छ भने हामी सहयोग गर्छौं भन्नुभएको छ,’ कँडेलले भने । अत्यावश्यक वस्तुको व्यवसाय गर्नेहरुलाई पनि आफु सुरक्षित भएर ग्राहकलाई पनि सुरक्षित तवरल उपभोग्य वस्तुको विक्री वितरण गर्न आग्रह गरिएको उनको भनाई छ । दैनिक अत्यावश्यक वस्तुहरुको सहज विक्री वितरणका लागि व्यवसायीहरुलाई आग्रह गरिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारीले बताए । ‘आफुसंग भएका दैनिक उपभोग्य वस्तुहरु नलुकाई सहज र सर्वसुलभ रुपमा विक्री वितरण गर्न सबैलाई आग्रह गरेका छौं,’ उनले भने,‘विश्व र सिंगो मानव समुदाय नै संकटमा परेको बेला मानवीय दायित्व पूरा गर्नपर्छ भन्ने कुरामा व्यवसायी साथीहरुलाई सचेत गराएका छौं ।’

उद्योग वाणिज्य संघको बैठकले पसल तथा व्यवसाय बन्द भएको समयको घरभाडा छुट गर्न घरधनीहरुलाई अपिल गरेको बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए । ‘त्यसै पनि पछिल्लो समयमा बागलुङमा व्यवसाय घट्दो क्रममा थियो, अहिले कोरोनाका त्रासले त पुरु सख्खा भयो र अब त पसल व्यवसायहरु बन्द नै गर्नुपर्ने भएको छ,’ उनले भने,‘व्यवसायी सञ्चालन नभएको समयको घरभाडा छुट गरेर मावनीय संवेदनाको अवस्थामा सहयोग गर्न घरधनीहरुलाई आग्रह गरिएको छ ।’ उद्योग वाणिज्य संघले सदरमुकाममा रहेका पसल तथा विक्री केन्द्रहरुबाट दैनिक उपभोग्य वस्तुहरुको स्टकको रेकर्ड समेत लिएको छ ।

उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गर्न आग्रह गरेपछि बागलुङ बजारका अधिकाँस पसलहरु बन्द भएका छन् । कोरोना भाईरसको संक्रमण रोक्नका लागि सरकारले सेमि लक डाउनमा जाने निर्णय गरेपछि पेशा व्यवसाय र अध्ययनका लागि बाहिरी जिल्लामा रहेकाहरु समेत धमाधम जिल्ला पर्किन थालेपछि संक्रमणको त्रास झन् बढेको छ । कोरोना भाईरसबाट आतंकित नभई सचेतना अपनाउन सके यसबाट बच्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । कोरोना भाईरस लाग्दैमा मृत्यु भैहाल्ने होईन ।