धौलागिरी अञ्चल अस्पतालमा आईसोलेशनमा राखिएका युवाको रिर्पाट नेगेटिभ

 बागलुङ- कोरोना भाइरसको संक्रमण भएको आशंकामा आईसोलेशनमा राखिएका बागलुङका एक युवाको रिर्पाट नेगेटिभ आएको छ । गत सोमबार देखी धौलागिरी अञ्चल अस्पतालमा आईसोलेशनमा राखिएका युवाको स्वाब परिक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । जनस्वास्थ्य प्रयोगशालाले जाँच गरेपछि विहिबार उनको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षण सहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेशनमा राखेका थिए ।
उनको रिपोर्टमा कोरोनाको कुनै संक्रमण नदेखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । ‘ति युवाको रिर्पोट नेगेटिभ आएको छ । यो खुसीको कुरा हो डा पोखरेलले भने, ‘उनको स्वास्थ्य पनि सामान्य बन्दै गएको छ उनलाई हामी डिस्चार्ज गर्दै छौं । उनलाई घरमा नै सुरक्षित ढंगले बस्नका लागी आग्रह गरेका छौं । अस्पतालमा अन्य यस्ता बिरामी आएमा तत्काल आइसोलेशनमा राखेर आवश्यक जाँच अघि बढाउने डा पोखरेलले बताए ।
अस्पतालमा अहिले पिपिई पनि भएको हुँदा शंकास्पद विरामी देखिएमा तुरुन्त स्वाब परिक्षणका लागि प्रदेशिक प्रयोगशाला मार्फत काठमाडौं पठाउने व्यवस्था गरिने छ ।