काठमाडौँ, चैत १९ गते । कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगाउनका लागि पूर्बमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकका स्वास्थ्यचौकीहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
कांग्रेस केन्द्रीय सदस्य बस्नेतले बुधबार मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्रीय सदस्य एवम् पूर्व सुचना तथा सञ्चार मन्त्री बस्नेतको सहयोगमा डा. नरेश काफ्लेलाई १ थान पीपीइ सेट हस्तान्तरण गरिएको छ।
यसैगरी बस्नेतले तातोपानी स्वास्थ्य चौकी, देबीस्थान स्वास्थ्य चौकीमा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। उनले अग्रपंक्तिमा रहेर काम गरेका नेपाल प्रहरीका लागि पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
बस्नेतले सुनकोशी गाउँपालिकाका विभिन्न वडामा पुगेर पीपीइ सेट, सेनिटाइजर, माक्स,ग्लोप, एप्रोन, पारासिटामल, जस्ता स्वास्थ्य सामाग्री बितरण गरेका थिए। यसैगरी, उनले मजदुर र बृद्धवृद्धाहरुलाई खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरेका थिए।
त्यस अबसरमा नेता बस्नेतले लकडाउनले मजदुर भोकै बस्नु पर्ने अवस्था सिर्जना भएकोले आफूले उनीहरुलाई सहयोग गरेको बताउँदै सरकारले त्यस्ता बर्गका लागि लक्षित कार्यक्रम नल्याएको भन्दै आपत्ति जनाएका छन् ।