म्याड्रिड ,, चैत्र २८ गते | पोर्चुगिज फुटबलर होजे फोन्टले क्रिस्टियानो रोनाल्डो कुनै पनि समय रियल म्याड्रिड फर्किन सक्ने दाबी गरेका छन्।
राष्ट्रिय टोलीमा रोनाल्डोका सहकर्मी ३६ वर्षीय फोन्टले रोनाल्डोका लागि रियल म्याड्रिडको ढोका सधैं खुला रहेको धारणा पनि व्यक्त गरेका छन्।
पाँच पटकका ‘बेलर डी ओर’ अवार्ड विजेता रोनाल्डो सन् २०१८ मा स्पेनिस ला लिगा क्लब रियल म्याड्रिड छाडेर इटालियन सिरिए क्लब युभेन्ट्समा आबद्ध भएका थिए। नौ वर्ष रियल म्याड्रिडमा बिताएका रोनाल्डो नयाँ चुनौतीको सामना गर्ने भन्दै युभेन्ट्स पुगेका थिए।
‘रोनाल्डो रियलमै फर्किए आश्चर्य नमाने हुन्छ। उनी युभेन्ट्समा खासै भिज्न सकेका छैनन्। रियलमा उनले आफ्नो खेलजीवनको लामो समय बिताएका छन् र उनका अधिकांश साथीहरू पनि सान्टियागो बेर्नाबेउमै छन्’, फ्रान्सेली क्लब लिलीका सेन्टर ब्याक फोन्ट भन्छन्।
३५ वर्षीय स्ट्राइकर रोनाल्डोले युरोपका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा ६ वर्ष बिताएर उनी सन् २००९ मा रियल म्याड्रिडमा आबद्ध भएका थिए। त्यसअघि उनले आफ्नै राष्ट्रको स्पोर्टिङ सीपीबाट पनि खेलेका थिए।
रोनाल्डोको क्लब युभेन्ट्स इटालियन सिरिए तालिकाको पहिलो स्थानमा आसीन छ। कोरोना भाइरसको त्रासका कारण हाल इटालियन सिरिए स्थगित छ। आफू आबद्ध भएको हरेक क्लबलाई रोनाल्डोले महŒवपूर्ण सफलता दिएका छन्। युभेन्ट्ससँग रोनाल्डोको सम्झौता सन् २०२२ सम्म छ।
‘रोनाल्डोले युभेन्ट्ससँग लामो समयका लागि सम्झौता गरेका छन् तर, रियल म्याड्रिड फर्कन उनका लागि पछाडिको ढोका सधैं खुला छ’, फोन्ट भन्छन्, ‘रोनाल्डोले रियल म्याड्रिड फर्कन चाहेमा युभेन्ट्ससँगको सम्झौता ठूलो तगारो होइन। सम्झौता कुनै पनि बेला परिवर्तन हुन सक्छ।’
पोर्चुगलले सन् २०१६ मा पहिलो पटक युरो कपको उपाधि जित्दा रोनाल्डोसँगै फोन्ट पनि टोलीमा थिए। रोनाल्डो र फोन्ट असल साथी हुन्।
‘मलाई थाहा छ, रोनाल्डो अझै पनि रियल म्याड्रिडलाई निकै माया गर्छन् त्यसैले उनी एल क्लासिको भिडन्तमा रियल म्याड्रिडको हौसल बढाउन स्पेन पनि पुगेका थिए। रियल म्याड्रिडको जितपछि उनले खुसीयाली पनि मनाएका थिए’, फोन्टले भनेका छन्।