डब्लुएचओमाथि बर्सिए ट्रम्पः आर्थिक सहयोग रोक्ने घोषणा, चीनको ढाकछोप गरेको अभियोग

काठमाडौँ, वैशाख ३ गते । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

डब्लुएचओलाई अमेरिकाले गर्दै आएको आर्थिक सहायता रोक्नका लागि आफूले निर्देशन दिइसकेको ट्रम्पले बताएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि डब्लुएचओले गरेको काम निकै कमजोर रहेको ट्रम्पले आरोप लगाएका छन् । डब्लुएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको ट्रम्पको अभियोग छ ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि ट्रम्पले गम्भीर आरोप लगाउँदै कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको बताए । यो अवव्यवस्थाका लागि डब्लुएचओ जिम्मेवार हुनै पर्ने ट्रम्पले बताएका छन् ।

यसअघि ट्रम्पले कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लुएचओ चीनको पक्षमा वकालत गरेको अभियोग लगाएका थिए । डब्लुएचओका प्रमुखले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका लागि डब्लुएचओले गरेको काम उपयुक्त नभएको बताए पनि अमेरिकामा उनको प्रशासनले संक्रमण फैलिन नदिनका लागि गरेको प्रयास पर्याप्त नभएको र सावधानी पनि ढिलो अपनाउँदा धेरैको ज्यान गएको अभियोग विज्ञलेहरुले नै लगाएका छन् । तर ट्रम्पले भने आफूले गरेका सबै काम सही र उपयुक्त रहेको दाबी गर्दै आएका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा भने, ‘मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गएको वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २५ हजार भन्दा बढीको मृत्यु भएको छ भने पाँच लाख ९२ हजार भन्दा बढी संक्रमित भएका छन् ।

चीनको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिँदा नै डब्लुएचओले राम्रो काम गर्न सकेको भए यसले विश्वव्यापी महामारीको रुप नलिने ट्रम्पले दाबी गरेका छन् ।

तर ट्रम्प आफैले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चीनले गरेको कामको प्रशंसा गरेका थिए । यस्तै उनले डब्लुएचओ तथा विज्ञको चेतावनीका बाबजुद पनि सावधानीका लागि बन्द गरिएका व्यवसाय तथा लकडाउन फुकुवा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →