पोखरा महानगरमा सेनिटाइजर टनेल, ५ सेकेण्डमै ‘होलबडी’ सफा

पोखरा , वैशाख ७ गते । पोखरा महानगरपालिकामा पुग्ने सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी सम्पूर्णले अब सेनिटाइजर टनेलमा सम्पूर्ण शरीर सेनिटाइज गरेर मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित सेनिटाइजर टनेल आइतबारदेखि महानगरपालिकामा सञ्चालनमा आएको हो । कोभिड-१९ (कोरोना)को महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको महानगरपालिकामा प्रयोगमा आएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार सेनिटाइजर टनेल भित्र प्रवेश गरेर टनेलको शुभारम्भ गरे । कार्यत्रलममा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना सक्रमण नियन्त्रण गर्न यस्ता प्रविधि उपयोगी हुने बताए । सेनिटाइजर टनेल गण्डकी प्रवेश गर्ने प्रमुख नाका, अस्पताल, व्यस्त रहने सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, सपीङ महललगायतमा राख्नु पर्ने बताए । यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने पनि उनले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सेनिटाइजर टनेललाई पोखराको ब्रान्डको रुपमा विकास गरि सर्वसुलभ मुल्यमा आवश्यक स्थानमा उपलब्ध गराउनुपर्ने बताए । पोखरा महानगरपालिकामा प्रयोगमा आएको सेनिटइजर टनेलमा छिरेपछि करिब ५ सेकेन्डमा यसले स्वचालित रुपमा होलबडीलाई ६० एमएलले सेनिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्कीटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । एक लिटर सेनिटाइजरले १७ जनाको शरीरलाइ सेनिटाइज गर्ने गरि टनेल निर्माण भएको हो

सेनिटाइजर टनेल १ लाख ५० हजारमा निर्माण भएको उनले बताए । एनइएका इन्जिनियरले प्राविधिक शिक्षाको उपयोग गरी पोखरा महानगरको यान्त्रिक कार्याशालामा यो टनेल निर्माण गरेको हो ।

नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीका उपाध्यक्ष धु्रव भट्टराई सेनिटाइजर टनेलको माग आए प्राविधिक सहयोग निशुल्क गर्ने बताए । पोखरामा प्रगतिशील इन्जिनियरिङ एसोसिएसन नेपालले समेत एक थान सेनिटाइजर टनेल निर्माण गरी सकेको छ । यो टनेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध गराइने पनि उनले जानकारी दिए ।

कर्मचारी र सञ्चारकर्मीको भीडभाड

पोखरा महानगरपालिका कार्यालय परिसरमा आइतवार बिहान सेनिटाइजर टनेल शुभारम्म कार्यक्रममा लकडाउनको बेलामा पनि भीडभाड गरी कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका र नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्वचालित सेनिटाइजर टनेल शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रमुख अतिथी बनाइएको थियो । कार्यक्रममा महानगरका इन्जिनियरहरु, कर्मचारी, नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीका पदाधिकारी, पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

सरकारले कोरोना सक्रमण नियन्त्रण गर्न चैत ११ गते देखि लकडाउन गरेको अवस्थामा पनि करिव ३५ देखि ४० जनाको उपस्थितिमा सेनिटाइजर टनेलको शुभारम्म कार्यक्रम भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुकुमारी गुरुङको पनि उपस्थिती रहेको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →